जोकोभिक टेनिस इतिहासकै असम्भवजस्तै मानिएको यो रेकर्डको नजिकै पुगेका पनि थिए । उनी केवल दुई खेल मात्रै टाढा थिए । तर, सेमिफाइनलमा उनको सपना एलेजान्डर ज्भेरेभले भताभुंग पारे ।
एजेन्सी÷ सर्बियाली टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा दुर्लभ गोल्डेन स्लाम पूरा गर्ने लक्ष्यका साथ सहभागी भएका थिए । जोकोभिक टेनिस इतिहासकै असम्भवजस्तै मानिएको यो रेकर्डको नजिकै पुगेका पनि थिए । उनी केवल दुई खेल मात्रै टाढा थिए । तर, सेमिफाइनलमा उनको सपना एलेजान्डर ज्भेरेभले भताभुंग पारे । जोकोभिक २–१ को सेटमा एलेजान्डरसँग स्तब्ध भए ।
विश्वका एक नम्बर जोकोभिक यो सिजनमा उत्कृष्ट फर्ममा छन् । उनले वर्षमा आयोजना हुने चारमध्ये तीन ग्रान्डस्लाम जितिसकेका थिए । अस्ट्रेलियन, फ्रेन्च तथा विम्बल्डन ग्रान्डस्लाम जितेका जोकोभिक ओलम्पिक स्वर्णसहित गोल्डेन स्लाम गर्ने सुरमा थिए ।
महिलातर्फ जर्मन खेलाडी स्टेफी ग्राफले गोल्डेन स्लाम हात पारेकी थिइन् । ग्राफले यो कीर्तिमान सन् १९८८ को सिउल ओलम्पिकमा रचेकी थिइन् । उनले चारै ग्रान्डस्लाम तथा ओलम्पिक स्वर्ण जितेकी थिइन् । पुरुषतर्फ अहिलेसम्म गोल्डेन स्लाम कसैले गरेका थिएनन् । चारैवटा ग्रान्डस्लाम तथा ओलम्पिक स्वर्ण पदक जित्ने अवसर धेरैले प्राप्त गर्न सक्दैनन् । तर, यसपटक जोकोभिक त्यो दुर्लभ अवसर प्राप्त गर्ने खेलाडी बन्नै लागेका थिए ।
जर्मन खेलाडी एलेजान्डरमाथि पहिलो सेट सहजै जितेका जोकोभिकलाई रोक्न नसक्ने अनुमान लगाइयो । त्यसपछिका दुई सेटमा एलेजान्डरले उत्कृष्ट पुनरावृत्ति गर्दै जोकोभिकलाई लक्ष्यमा पुग्न दिएनन् । एकल स्पर्धामा व्यहोरेको नतिजा जोकोभिकले डबल्समा पनि दोहोर्याए । मिक्स डबल्सको सेमिफाइनलमा उनी पराजित भए । यहाँ पनि स्वर्ण जित्ने सम्भावना समाप्त भयो । अझ जोकोभिकको कास्य पदक जित्ने योजना पनि तुहिएको छ । स्पेनिस खेलाडी पाब्लो कारेनोसँग उनी कास्य पदकका लागि शनिबार भएको खेलमा पराजित भए ।
सेमिफाइनलअघि एलेजान्डरले जोकोभिकसँग प्रतिस्पर्धा गरेका १० खेल नै गुमाएका थिए । तर, उनले जोकोभिकविरुद्धको ११औँ खेल विशेष बनाए । उनले जर्मनीलाई टेनिस खेलमा स्वर्ण पदकको आशा दिलाएका छन् । पुरुष एकलमा स्तब्ध भएपछि जोकोभिकले रिस नियन्त्रणमा लिन सकेनन् । उनले बल आकाशतिर हुत्याए । विपक्षी खेलाडीको सर्भिस उत्कृष्ट र शक्तिशाली भएको प्रतिक्रिया जोकोभिकले दिएका छन् ।
‘मैले खेल गुमाउनुको पछाडि एलेजान्डरको शक्तिशाली सर्भिस नै थियो,’ हारको कारणबारे उनले भने, ‘मेरो प्रत्येक सर्भिसको जवाफ उनीसँग थियो ।’ टोकियोको सेन्टर कोर्टमा दुई घन्टा चलेको प्रतिस्पर्धा विशेषतः सर्भिस गेम नै थियो । एलेजान्डरले पहिलो सेटपछि आफू सम्हालिएर प्रतिस्पर्धा गरेको बताए । ‘पहिलो सेटमा सामान्य गल्तीकै कारण पराजित भएँ, त्यसपछि गल्ती सुधार गर्दै गएँ, विश्व एक नम्बर खेलाडीलाई दोस्रो सेटमा ३–२ को महŒवपूर्ण अग्रता लिन सफल भएँ,’ एलेजान्डरले भने, ‘सम्भवतः यही नै खेलको सुन्दर पक्ष हो ।’
थम्पसन विश्वकै दोस्रो छिटो दौडने धाविका
टोकियोको मुख्य ओलम्पिक रंगशालामा शनिबार महिलातर्फको सय मिटर दौडमा जमैकाकी एलेन थम्पसनले उपाधि रक्षा गर्नुका साथै ओलम्पिक खेलकै दोस्रो छिटो दौडने धाविका बनेकी छन् । उनले निर्धारित दूरी १०.६१ सेकेन्डमा पूरा गरिन् । यस विधामा अमेरिकन खेलाडी फ्लोरेन्स ग्रिफिथले ३३ वर्षअघि १०.४९ सेकेन्डको रेकर्ड राखेकी थिइन् ।
फ्लोरेन्सपछि अब सय मिटर दौडमा छिटो दौडने महिला थम्पसन हुन् । फ्लोरेन्सको रेकर्ड तोड्न उनी १२ मिलिसेकेन्डले पछि परिन् । रमाइलो पक्ष के रह्यो भने यस दौडमा शीर्ष तीन स्थानमा सबै जमैकन खेलाडी रहेका छन् । सेलिय अना १०.७४ सेकेन्डका साथ रजत तथा सेरिका ज्याक्सन १०.७६ सेकेन्डका साथ काँस्य पदकमा सीमित भए । सेलियले सन् २००८ र २०१२ को ओलम्पिकमा स्वर्ण हात पारेकी थिइन् ।

यसपटक उनले दोस्रो स्थानमा चित्त बुझाइन् । ओलम्पिकमा सहभागी हुनुअघि थम्पसनको घुँडामा समस्या थियो । ‘घुँडा तथा शरीरको पछाडि भागमा समस्या थियो, पाँच वर्षअघि रियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्न सक्ने वा नसक्ने अवस्थामा थिएँ,’ थम्पसनले भनिन्, ‘म आफ्नो लक्ष्य पूरा गर्न अग्रसर भएँ, यसमा आत्मविश्वास नै ठूलो पक्ष रह्यो ।’
यस इभेन्ट्सकी स्वर्ण विजेता थम्पसन एक सन्तानकी आमा हुन् । चौथोपटकको ओलम्पिक यात्रा पनि उनले आफूलाई फिट नै राखेकी छन् । ‘यो सफलताले विश्वमा एक महिला खेलाडी, जो आमा पनि हुन्, राष्ट्रका लागि खेलाडी तथा एक महिलाले आत्मशक्ति बलियो बनाएको अवस्थामा जस्तोसुकै समस्या समाधान गर्न सक्छ भन्ने सन्देश गएको जस्तो लाग्छ,’ थम्पसन भन्छिन्, ‘यसलाई एक किसिमले पागलपन भन्नुपर्छ, अब घर पुग्दा परिवारसँग केही बेर आँसु झार्नेछु ।’
बाहिर घुम्न जाँदा जर्जियाका दुई खेलाडीमाथि कारबाही
टोकियो ओलम्पिक आयोजकले खेलाडी, प्रशिक्षक तथा अफिसियललाई बाहिर घुम्न छुट दिएको छैन । आयोजकले छुट्याइएको स्थानमा मात्र उनीहरू घुम्न जान पाउँछन् । यसबाहेक अन्य कहीँ पनि जान सक्दैनन् । यदि नियमभन्दा बाहिर गए तत्कालै कारबाही भोग्नुपर्छ । जर्जियाका दुई खेलाडीले नियम तोडेका कारण नै कारबाहीमा परेका छन् ।
ओलम्पिक भिलेज छाडेर टोकियो सहर घुम्न जाँदा ती दुई खेलाडीलाई जर्जिया पठाउने तयारी आयोजकले गरेको छ । जापानले कोभिड–१९ बढिरहेको जनाउँदै संकटकाल लागू गरेको छ ।
जर्जियाका दुई ओम्पियन खेलाडी बिहीबार टोकियोका विभिन्न स्थानमा घुम्न गएका थिए । उनीहरूले आयोजकसँग अनुमति नलिई टोकियो टावर पनि घुमे । नियमबाहिर गएपछि आयोजकले यी दुवै खेलाडीका कार्डसमेत रद्द गरेको छ । ओलम्पिक खेलकुदमा सहभागिता जनाएको सबैभन्दा ठूलो प्रमाणका रूपमा ‘ओलम्पिक कार्ड’ नै हो ।
‘हामीले दुवै खेलाडीका एक्रिडिएसन कार्ड रद्द गरिसकेका छौँ, अब उनीहरू घर जान सक्छन्, यसउपरान्त खेलमा सहभागी हुन पाउनेछैनन्,’ टोकियो महानगरपालिकाका प्रवक्ता मासानोरीले भने, ‘एथलेटिक्स भिलेजबाहिर गई उनीहरूले टोकियोका विभिन्न क्षेत्रमा घुम्न गएको प्रमाण हामीले पाएका छौँ ।’
आयोजकले कारबाहीमा परेका खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । यता, जर्जिया ओलम्पिक कमिटीले पनि आफ्ना दुईजना खेलाडी कारबाहीमा परेको स्वीकार गरेको छ । जापानले खेलाडीहरूलाई आ–आफ्नो इभेन्ट पूरा गरेपछि ४८ घन्टाभित्र देश छाड्न भनेको छ ।