जर्मनी–अमेरिका सम्बन्ध : न भर पर्न सकिने, न अलग हुन

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

आणविक हतियारयुक्त रुसको विस्तारवादसँग जुध्नुपर्ने भएकाले पनि जर्मनी अझै लामो समय अमेरिकाको सुरक्षा छाताभित्रै रहनेछ 

दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९९० को एकीकरणसम्म अमेरिकाले जर्मनीको पुनर्निर्माण र आर्थिक पुनरोदयमा नेतृत्वदायी भूमिका निभायो । त्यसअघि यी दुई देशको सम्बन्ध शत्रुतापूर्ण थियो । विश्वशक्ति बन्ने सनकमा जर्मनीले सुरु गरेको दुई विश्वयुद्ध उसका लागि पूर्ण हार तथा ध्वस्तमा टुंगियो । दोस्रो विश्वयुद्धमा मित्रशक्तिको विजयपछि जर्मनी विजित मुलुकबीच विभाजित भयो । उसले पूर्वी क्षेत्रको ठूलो हिस्सा गुमायो, जसका कारण १.२ करोड शरणार्थी बने र देशबाट निकालिए । नाजीहरूको दानवी विरासतले सबैतिर नैतिक खाडल छाडेको थियो । 

दोस्रो विश्वयुद्धपछि जर्मनीको पुनर्निर्माण अमेरिकी संरक्षण र सहयोगमा निर्भर रह्यो । जोसेफ स्टालिन सोभियत संघलाई अमेरिकी नेतृत्वको पुँजीवादी पश्चिमको प्रतिद्वन्द्वीका रूपमा हेर्थे । सन् १९४० को दशकको अन्त्यपछि यो विचारधारा शीतयुद्धको कारण बन्यो र यसको केन्द्रमा जर्मनी र त्यसमा पनि बर्लिन रह्यो । 

युरोपमा हैकम जमाउने तथा विश्वको एक महाशक्ति बन्ने जर्मनीको दुई प्रयास असफल भएपछि अमेरिका र संघीय गणतन्त्र जर्मनीबीचको घनिष्ट गठबन्धन सुरु भएको थियो । तर, द्विपक्षीय सम्बन्धको घनिष्टतामा अमेरिकामा पछिसम्म पनि केही हदसम्म राजनीतिक अविश्वास कायम थियो । तर, जर्मनीका ‘गठबन्धन समर्थक’ भने सम्बन्धमा पूर्ण निश्चिन्त थिए । तिनको दृष्टिमा गठबन्धनले (जसमा नेटोजस्तो सैन्य पक्ष पनि समावेश थियो) उनीहरूबीच कायम सम्पूर्ण शत्रुतालाई मेटेको थियो । तर, उनीहरू गलत थिए । शीतयुद्धकालभरि अमेरिकाले बहुविधि रणनीति पछ्यायो । यसअन्तर्गत उनीहरूले सोभियत संघलाई आतंकित बनाउने र जर्मनीलाई नियन्त्रणमा राख्ने रणनीति अपनाए । जर्मनीको अवस्थितिका कारण युरोपमा उसको केन्द्रीय भूमिका रहने उनीहरूले पहिचान गरेका थिए । आन्ध्र महासागरको दुई किनारमा रहेका अमेरिका र जर्मनीबीचको सम्बन्ध तिनका समर्थकले चाहेजस्तो कहिल्यै पनि सरल भएन । र, आज पनि त्यस्तो छैन ।

दोस्रो विश्वयुद्धपछिको पहिलो जर्मन चान्सलर कोनरार्ड एडेनोयरको नेतृत्वमा संघीय गणतन्त्र जर्मनी धेर–थोर पश्चिममा सफलतापूर्वक एकाकार भयो । तर, दुईबीच स्वार्थ र अर्थ–राजनीतिको सन्दर्भमा भिन्नता यथावत् रह्यो । सन् १९७० को दशकमा अमेरिका र सोभियत संघबीच सम्बन्ध सुधारको प्रयास भइरहँदा जर्मन चान्सलर विली ब्रान्डले अघि ‘ओस्टपोलिटिक’ (पूर्वी नीति) ल्याए । त्यस नीति कार्यान्वयनको क्रममा अमेरिका र जर्मनीबीचको भिन्नता प्रस्ट देखिएको थियो । 

तथापि, सोभियत संघको पतनपछि जर्मनी पुनः एकीकरणको पक्षमा तत्काल पूर्ण समर्थन गर्ने शक्ति अमेरिका थियो । जर्मनीका युरोपेली छिमेकीका लागि भने भूराजनीतिक शक्तिका रूपमा जर्मनीको पुनरागमनको सम्भावनाले पुरानो भय उत्पन्न गराउन थाल्यो । पुनः एकीकरणसँगै जर्मनी पूर्ण सार्वभौम मुलुक बनेपछि अमेरिका र जर्मनीबीचको संरक्षक र संरक्षितको पुरानो सम्बन्ध स्वाभाविक रूपमा बदलियो । तथापि, जर्मनीले दोस्रो विश्वयुद्धपछि विकास गरेको मानसिकता बदलेको छैन । अन्य युरोपेली शक्तिहरू बेलायत र फ्रान्स संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्यता भएका आणविक हतियारयुक्त मुलुक हुन् । उनीहरू विश्वव्यापी नेतृत्वकारी भूमिकाको माग गर्न हिच्किचाउँदैनन् । तर, विश्वको चौथो ठूलो अर्थतन्त्र जर्मनीले त्यस्तो कुनै दाबी गरेको छैन । 

जर्मनी अझै लामो समय अमेरिकाको सुरक्षा छातामा रहनेछ । उसलाई अझै उसको इतिहासले तर्साउँछ । त्यसबाहेक उसका सामु विशाल सुरक्षा सर्तहरू व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ । युरोपको मुटुमा रहेको जर्मनीले युरोपेली संघमा आबद्ध भएका÷नभएका केन्द्रीय तथा पूर्वी युरोपका साना मुलुकका चाखलाई ख्याल गर्नुपर्छ । साथै, उसले आणविक हतियारयुक्त रुसको विस्तारवादसँग जुध्नुपर्ने हुन्छ । देशको आर्थिक आधारमा धाँजा पर्ने संकेतमाझ उसले माथिका सबै मुद्दामा जोड दिनुपर्छ । जर्मनीले आफ्नो संरक्षकको रणनीतिक स्वार्थलाई पनि ख्याल गर्नुपर्ने हुन्छ, भलै ती स्वार्थ उसकै स्वार्थसँग किन नबाझियोस् । पछिल्लो समय अमेरिका–चीनबीचको सम्बन्ध शत्रुतापूर्ण हुँदै गएको छ, तर चीन जर्मनीको सबैभन्दा महत्वपूर्ण व्यापारिक मित्र हो । युरोपेली संघको भविष्यलाई आकार दिनेमा जर्मनीको प्रमुख भूमिका हुनेछ । यी सबैमा सन्तुलनकारी भूमिका खेल्नुपर्ने जर्मनीको कूटनीति निकै जटिल हुनेछ । 

डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वकालमा अमेरिका–जर्मनीबीचको सम्बन्धमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो क्षति पुग्यो । वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसामु अमेरिकाले आफ्ना मित्रहरूको विश्वास पुनः हासिल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । पुनः ट्रम्प वा ट्रम्पजस्तै व्यक्ति सत्तामा आए भने के हुन्छ ? आगामी दिन जर्मनीका लागि यो प्रश्न अरू सबै सर्तभन्दा महत्वपूर्ण हुनेछ । पछिल्लो समय संरक्षक–संरक्षितको सम्बन्धले काम गर्न छाडेको छ र युरोपेली संरचनाभित्र जर्मनी पूर्णतः स्वतन्त्र भूमिका निर्माण गर्न सक्ने अवस्था पनि छैन । रुस र चीनबारेको फरक स्वार्थले अमेरिका र जर्मनीबीच थप विवाद र घर्षण निम्तिनेछ । त्यसैले अमेरिका र जर्मनीबीचको द्विपक्षीय सम्बन्धको आगामी चरण सम्झौताको कलामा निर्भर हुनेछ । 

फिसर जर्मनीका पूर्वविदेशमन्त्री तथा सन् १९९८ देखि सन् २००५ बीचका भाइस–चान्सलर हुन् 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

सुझावित समाचार