सरकारलाई पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र : दार्चुला घटनाको तत्काल छानबिन गरियोस्

शनिबार, १६ साउन, २०७८
डिजिटल संस्करण

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । 

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय आपराधिक कार्यको विरोध र भर्त्सना गर्दै घटनाको छानबिन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमाक्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जिपी मैनालीले जानकारी दिए ।  

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकुलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको छ । विद्यार्थीहरूका जायज मागहरू सम्बोधन गरी परीक्षा सुचारु गर्न संगठनले माग गरेको छ । 

यसैगरी, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरूले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरूले दादागिरी मच्चाइरहेका छन् । पढाइ, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।


 

सुझावित समाचार