नेप्से र कारोबार रकम दुवै घट्यो

शुक्रबार, १५ साउन, २०७८
डिजिटल संस्करण

नेप्सेको उकालो यात्रा रोकिएको छ । साताको अन्तिम कारोबारका दिन उच्च बिन्दुमा पुगेको नेप्से घट्नुका साथै कारोबार रकममा पनि गिरावट आएको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढेर ३ हजार ९४ बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएकोमा बिहीबार १५ दशमलव १३ अंकले गिरावट आउँदै ३ हजार ७९ बिन्दुमा पुगेको छ । 

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १७ कम्पनीको २ करोड ६० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार गुडविल फाइनान्सको सबैभन्दा बढी ३३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलिरीको २९ करोड ४४ लाख रुपैयाँ, युनाइडेट मोदी हाइड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ, हिमालयन जनरल इस्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ, रिद्धि हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी घट्नेमा गुडविल फाइनान्स र माउन्टेन हाइड्रो रहेका छन् । यी कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । त्यस्तै, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, जोशी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले पनि करिब ३ प्रतिशत गुमाएका छन् । 

रिडी हाइड्रोपावर कम्पनीको भने सो दिन ९ दशमलव ९५ प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार हुन पुगेको छ । बुधबार नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा  पहिलोपटक कारोबार भएको जीवन विकास लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । सो दिन संस्थाको ८ दशमलव २२ प्रतिशतले बढेर प्रतिसेयर ९ सय ८९ रुपैयाँ १० पैसा पुगेको छ । त्यसैगरी, सप्तकोसी डेभलपमेन्ट बैंक, युनाइटेड इदीमर्दी आरबी हाइड्रोपावर, चन्द्रागिरि हिल्सका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

कारोबारमा आएका १३ समूहका सूचकमा २ समूहका  सूचकबाहेक सबै समूह नकारात्मक भएका छन् । विकास बैंक र होटेल तथा पर्यटन समूहका सूचक भने बढेका छन् । 

See More On

सुझावित समाचार