बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार : गगन थापा

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बालुवाटारबाट बार्दली पुगेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले भने, ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने, न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाई दिने, तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने। यस्तै–यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन।’

यो संसद् सरकारसँग नडराएर  सरकार यो संसद्सँग डराउनुपर्ने उनले बताए। ‘यस्तो हुन नदिने संसद्ले पनि संकल्प गर्नुपर्नेछ। न त यो संसद्लाई बेवास्ता गर्न दिइने, न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने, न त छल्न। यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्नेछ, सांसदकाे प्रश्नसँग, सरकारको निगरानीसँग,’ उनले भने।

परीक्षा प्रधानमन्त्रीको मात्रै नभएर सभामुखको पनि भएको उनले बताए। ‘संविधानको धाराले प्रतिनिधिसभा पुनर्स्थापित भयो। अनि सांसदकाे अधिकारले सरकार। अब सभामुख र हाम्रो कर्मले संसद् र संविधानप्रति गुमेको जनविश्वासलाई पुनर्स्थापित गर्नुपर्नेछ,’ उनले सदनमा भने । 
 

सुझावित समाचार