कसरी ल्याउने विद्यार्थीमा मौलिकता र नवीनता ?

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

प्राध्यापकहरूले परीक्षामा नवीन, सिर्जनात्मक र मौलिक प्रश्न सोध्न सक्दैनन् भने विद्यार्थीहरूले कसरी उत्तरमा मौलिकता र नवीनता ल्याउन सक्छन् ?

महामारीका वेला परीक्षाहरू अनलाइन माध्यमबाट भइरहेका छन् र उत्तरपुस्तिकाहरूमा मौलिकता भएन भनेर टिप्पणी भइरहेका छन् । तर, सर्वसत्तावादी कक्षाहरूमा प्रशिक्षित मगजहरूले मौलिक र भिन्न उत्तर लेखून् पनि कसरी ? कलेज वा शैक्षिक संस्थाहरू रचनात्मकताका विरोधी हुन् ।

सूतपुत्र राधेय 

तसर्थ, पूर्वनिर्धारित उत्तर घोकेर लेख्नु प्राधिकारलाई खुसी बनाउने सबैभन्दा सरल उपाय हो । सजिलो भाषामा भन्ने हो भने चलिआएको नियम मान्ने, राम्रो अंक ल्याउने र जागिर खाने हो । हाम्रो जस्तो मुलुक, जहाँ परीक्षाको प्राप्तांक उज्यालो भविष्यको बाटो खोल्न र राम्रा विश्वविद्यालयमा भर्ना हुन सहयोगी साबित हुन्छ, त्यहाँ चिन्तनमा मौलिकता कसैको चासोको विषय बन्नै सक्दैन । 

‘थ्री इडियट्स’ नामको बलिउड चलचित्रमा कक्षाकोठाको दृश्य छ । जहाँ चलचित्रका एक नायक र्‍यान्चोलाई प्राध्यापकले मेसिनबारे प्रश्न सोध्छन् । उसले सजिलो भाषामा उत्तर दिन्छ तर बनिबनाउ र घोकन्ते उत्तरको अपेक्षा गरिरहेको प्राध्यापकले उसलाई कक्षाबाट निकालिदिन्छ । तर, त्यही प्रश्नमा चतुर नाम गरेको अर्को विद्यार्थीले कोरा किताबी परिभाषा भट्याउँछ र स्याबासी पाउँछ । यो चलचित्र २००९ मा रिलिज भएको हो । विडम्बना, अहिले पनि भारतका कैयौँ विश्वविद्यालय र कलेज यो चलचित्रभन्दा फरक छैनन् । बहस र छलफलका लागि भारतीय शैक्षिक संस्थाका कक्षाकोठाहरू सबैभन्दा अलोकतान्त्रिक स्थान हुन् । यहाँ प्राधिकारको प्रतीक अर्थात् प्राध्यापक जहिल्यै सही हुन्छ भन्ने सिकाइन्छ ।

कक्षामा फरक मत हुनु भनेको अधिकांश अवस्थामा अनावश्यक झमेलामा पर्नु हो वा मजाकको पात्र बन्नु हो । त्यस्तो अवस्थामा अन्तिम परीक्षाको अंक प्राध्यापकको हातमा हुन्छ भन्ने जान्दाजान्दै कसले तारो बन्ने रुचि राख्ला र ? अधिकांश शैक्षिक संस्थामा कक्षाकोठालाई तालिम केन्द्रहरू बनाइएको हुन्छ, जहाँ प्राध्यापकले आफ्ना सिद्धान्त लाद्न खोज्छन् र केही विद्यार्थी प्रभावित पनि हुन्छन् । यदि हाम्रा विचार र हामीले पढ्ने सामग्री प्राध्यापकको विचारबाट प्रभावित हुन्छ भने हाम्रा उत्तर अरू साथीहरूको भन्दा भिन्न कसरी हुन सक्छ ? 

धेरै सन्दर्भमा विद्यार्थीलाई विचार निर्माण गर्न प्रोत्साहन गरिँदैन र जसले यस्तो प्रयास गर्छ, ऊ ‘ब्याकबेन्चर’ वा बुद्धु ठहरिन्छ । त्यही भएर कालान्तरमा विद्यार्थी आफ्नै उत्तरप्रति निर्धक्क हुन सक्दैन । जब अंकको सवाल उठ्छ, सबैभन्दा सजिलो र उत्तम विकल्प प्राध्यापकले लेखाएका उत्तर सार्नु हो वा इन्टरनेटबाट उत्तर खोज्नु हो, जुन मोटामोटी एकै उत्तर दोहोरिने हो । कुनै शिक्षण संस्थामा त कक्षामा नोट्ससमेत दिन नपरोस् भनेर प्राध्यापकहरू नै विद्यार्थीलाई इन्टरनेटमा उत्तर खोज्न लगाउँछन् । यस्ता शिक्षक पनि छन्, जो नियमित कक्षा पनि लिन खोज्दैनन् वा पढाउनै खोज्दैनन् । के यो प्रवृत्ति  ‘कपी–पेस्ट’ संस्कृतिजत्तिकै खराब होइन र ?

बहस र छलफलका लागि भारतीय शैक्षिक संस्थाका कक्षाकोठाहरू सबैभन्दा अलोकतान्त्रिक स्थान हुन् । कक्षामा फरक मत हुनु भनेको अधिकांश अवस्थामा अनावश्यक झमेलामा पर्नु वा मजाकको पात्र बन्नु हो ।

हाम्रा शैक्षिक संस्थाहरू पढाउने उत्साह नै नभएका शिक्षकले भरिएका छन् । फलस्वरूप सिकाइको प्रक्रिया नै यान्त्रिक बन्यो । यस्तो उदासीन व्यवस्थाले उत्साहले भरिएका विद्यार्थी कसरी उत्पादन गर्ला ? थुप्रै विश्वविद्यालयमा विद्यार्थीको रचनात्मकता सिध्याउने उद्देश्यले दुई–तीन वर्षमा प्रश्नहरू दोहोरिन्छन् । प्राध्यापकहरूले परीक्षामा नवीन, सिर्जनात्मक र मौलिक प्रश्न सोध्न सक्दैनन् भने विद्यार्थीहरूले कसरी उत्तरमा मौलिकता र नवीनता ल्याउन सक्छन् ? 

कक्षाकोठाहरूमा लोकतान्त्रिक मूल्य–मान्यतालाई स्थान दिन कति प्राध्यापकहरू तयार छन् ? कतिले आफूबाट त्रुटि हुँदा स्वीकार गर्छन् ? कतिले विद्यार्थीलाई विचार निर्माण गर्न साँच्चै प्रोत्साहन गर्लान् ? कति प्राध्यापक जटिल अवधारणालाई तर्कसंगत रूपमा कक्षा समयभन्दा बढी समय दिएर बुझाउन तयार हुन्छन् होला ? र, कति प्राध्यापकले अनुत्तीर्ण विद्यार्थीलाई अझै प्रयास गर भनेर प्रोत्साहन गर्छन् होला ? औँलामा गन्नलायक संख्या पनि नहोला । यदि शिक्षाको लोकतान्त्रीकरण गर्ने प्राध्यापकको संख्या बढ्ने हो भने निःसन्देह हाम्रो समाजमा परिवर्तन आउनेछ । यति भन्दै गर्दा सारा दोष प्राध्यापककै थाप्लोमा मात्र बिसाउन भने मिल्दैन । प्राध्यापकहरू पनि यही व्यवस्थाका उपज हुन् । विद्यार्थी र प्राध्यापकमा मौलिकताको कमी हुनुमा थुप्रै कारक जिम्मेवार हुन्छन् । अधिकांश भर्ना नीतिहरू मौलिकता वा रचनात्मकतामा नभई परीक्षाका अंकहरूमा आधारित हुन्छन् । प्राध्यापक र शिक्षकहरूलाई उचित व्यावसायिक तालिम पनि दिइन्न । हाम्रा शैक्षिक संस्थाहरू अलोकतान्त्रिक छन् र गम्भीर बुझाइका ठाउँमा सतही बुझाइ भएकालाई पुरस्कृत गरिन्छ । ऐतिहासिक रूपमा बेलायती राजबाट सुरु भएको हुकुम पालना गर्ने संस्कृति अझै विद्यमान छ । 

यति लेख्दा पनि यो आलेख सारा व्यवस्थाको एक पक्षमा केन्द्रित छ । अर्थात् प्राध्यापक, किनभने हामी विद्यार्थीले उहाँहरूलाई नै हेर्ने हो र उहाँहरूबाट नै प्रेरणा लिने हो । अहिलेको अवस्थाका लागि विद्यार्थीलाई मात्र जिम्मेवार ठहर्‍याउनु रोगका लक्षणलाई मात्र चिनाउनु हो । यो आलेख विद्यार्थीको दृष्टिबाट लेखिएको हो र यो लेखले सम्पूर्ण सत्य उजागर गर्छ भन्ने दाबी पनि म गर्दिनँ । यो लेख केवल समस्यालाई एक कोणबाट हेरेको मात्र हो । म आशा गर्छु, कुनै दिन प्राध्यापकहरूले कक्षाकोठाभित्रै मौलिकता र रचनात्मकताको कदर गर्नेछन् । त्यसपछि मात्रै शिक्षाप्रति विद्यार्थीको मानसिकता परिवर्तन हुनेछ ।

(राधेय कवि एवं टिप्पणीकार हुन्)  द वायरबाट 


सुझावित समाचार