हरेक वर्ष विश्वभर करिब ३० लाख मानिसको मृत्यु अल्कोहल सेवनका कारण हुने स्वास्थ्य समस्याले हुने एक अध्ययनले देखाएको छ । ग्लोबल बर्डन अफ डिजिजको एक तथ्यांकअनुसार कुल ५ दशमलव १ प्रतिशत रोग र चोटपटकको कारणसमेत अल्कोहललाई मानिएको छ ।
नेपालमा मदिरा सेवनका कारण हुने मृत्यु दरको विषयमा आधिकारिक तथ्यांक पाइँदैन । तर, दूषित मदिरा सेवनका कारण हुने उच्च रक्तचाप, क्यान्सर, हेपाटोरेनल सिन्ड्रोम (मिर्गौलामा समस्या), फ्याटी लिभर, ग्यास्टिक, अल्सर, मुटुरोग, एन्जाइटी डिप्रेसन आदिजस्ता करिब दुई सयभन्दा बढी रोग निम्तिरहेको चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अकाल मृत्युको मुख्य कारण अत्यधिक अल्कोहल सेवन नै हो । २० देखि ३९ वर्ष उमेर समूहभित्रका मात्रै प्रतिवर्ष मदिरा सेवनका कारण १३.५ प्रतिशतको मृत्यु भइरहेको छ ।
विश्वभर प्रयोगमा ल्याइने मदिराजन्य पेय पदार्थ वाइन, बियर र स्प्रिटभित्र समूहीकृत गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले शतप्रतिशत हानिकारक मानिए पनि पानी र चियापछि सबैभन्दा बढी प्रयोगमा आउने पेय पदार्थभित्र अल्कोहल पर्छ । बियर खपत सबैभन्दा बढी गर्ने देशहरूमा चीन, अमेरिका र ब्राजिल पर्छन् । सबैभन्दा बढी बियर उत्पादन हुने चीनमा १ खर्ब १३ अर्ब बोतल बियर खपत हुन्छ भने साढे ६७ अर्ब बोतल खपत गर्दै आएको छ ।
स्वास्थ्यका दृष्टिकोणले शतप्रतिशत हानिकारक मानिए पनि पानी र चियापछि सबैभन्दा बढी प्रयोगमा आउने पेय पदार्थभित्र अल्कोहल पर्छ । बियर खपत सबैभन्दा बढी गर्ने देशहरूमा चीन, अमेरिका र ब्राजिल पर्छन् ।
यस्तै संयुक्त राज्य अमेरिका सबैभन्दा बढी वाइन उपभोग गर्ने राष्ट्र हो । अमेरिकामा प्रतिवर्ष ४ दशमलव ३ अर्ब बोतल वाइन खपत हुँदै आएको छ । यसपछि फ्रान्स र इटलीसमेत अत्यधिक वाइन प्रयोगकर्तामा पर्छन् । नेपालमा भने वार्षिक झन्डै ६ करोड लिटर मदिरा खपत हुन्छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार न्यून आय भएका मुलुकहरूमा अनधिकृत मदिराको खपत झन्डै ५० प्रतिशत रहेको छ । दक्षिण एसियामा औसत अनधिकृत मदिराको खपत ४७.५ प्रतिशत रहेको छ । नेपालमा अल्कोहलको प्रतिव्यक्ति वार्षिक खपत २ लिटर छ । महिलाले वार्षिक ०.६ लिटर र पुरुषले ३.६ लिटर खपत गर्ने तथ्यांक छ ।
मदिरा सेवनले स्वास्थ्यसँगै शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने मुटुरोग विशेषज्ञ डा. दीपक मिश्र बताउँछन् । उनी भन्छन्, ‘अल्कोहल सेवन फेसनजस्तै भइसकेको छ, यसको असरबारे समेत जानकार हुदाँहुँदै अत्यधिक प्रयोग गर्ने व्यवहारका कारण रोगहरूको संख्या बढ्दै गइरहेको छ । अत्यधिक अल्कोहलले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा शरीरको प्रत्येक अंगमा असर पुर्याइरहेको हुन्छ ।’
अल्कोहलले लाग्न सक्ने रोगहरू
.jpg'_'.2021-07-25.jpg)
डा. दीपक मिश्र, मुटुरोग विशेषज्ञ
फ्याटी लिभर
रक्सीले सुरुवातीमा शरीरको कलेजो, मुटु, मस्तिष्क, आन्द्रा, खानानली आदिलाई असर गर्ने मुटुरोग विशेषज्ञ डा. मिश्र बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने व्यक्तिहरूको संख्या दिनानुदिन बढिरहेको छ, जसको मुख्य कारण अल्कोहल सेवन हो ।’ हामीले सेवन गरेको रक्सीले एल्डिहाइड नामक रसायन उत्पादन गर्दछ । जसले सुरुमा कलेजोमा संक्रमण गर्दछ र कलेजो सुन्निन थाल्छ । रक्सीको लगातार सेवन गर्ने हो भने बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । फ्याटी लिभर कलेजोमा देखिने सबैभन्दा सुरुको अवस्था हो । रक्सीको सेवन पूर्णरूपमा छाडेमा कलेजो सामान्य रूपमा फर्किन सक्छ ।
सिरोसिस लिभर डिजिज
कलेजो शरीरभित्रको दोस्रो ठूलो अंग हो । कलेजोले शरीरलाई ऊर्जा भण्डारण गर्न, खाना पचाउन, विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्दछ । जुन करिब पाँच सयभन्दा बढी शारीरिक गतिविधिमा संलग्न हुन्छ । कलेजोले प्रोटिन, काब्र्रोहाइड्रेट र फ्याटलाई समेत पचाउने काम गर्दछ । चिकित्सकहरूका अनुसार, लगातार अल्कोहलको सेवन गर्दा कलेजोमा सिरोसिस, फ्याटी लिभर, अल्कोहोलिक हेपाइटाइटिस हुँदै स्वास्थ्य समस्याहरू फैलिँदै जान्छन् । डा. मिश्रका अनुसार फ्याटी लिभरको समस्या भइसकेपश्चात् पनि रक्सी खान नछाडेमा अल्कोहोलिक हेपाइटाइटिसको समस्या हुने गर्छ । जन्डिस देखिने, खान मन नलाग्ने, दाहिने कोखा दुख्ने, ज्वरो आउने र कमजोर महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखापरेपश्चात् पनि रक्सीको सेवन बन्द नगरेमा जन्डिसको समस्या बल्झदै जाने गर्छ, जसलाई मेडिकल भाषामा सिभियर अल्कोहोलिक हेपाइटिस भनिन्छ । बिस्तारै रगत पातलो हुँदै जाने भएकाले करिब ५० प्रतिशत बिरामीको मुत्यु अल्कोहोलिक हेपाटाइटिसले हुने गरेको पाइन्छ ।
सामान्यतया स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्षेत्रमा ३६० एमएल बियर, १६० एमएल वाइन र ३० एमएल स्प्रिटलाई लाइट टु मोड्रेड ड्रिङ्क मान्ने गरिन्छ । तर, २१ वर्षमुनि उमेर समूह, गर्भवती महिला, ड्राइभिङ र अन्य सीपसम्बन्धी काम गर्नुभन्दा अगाडि, मेडिकेसन प्रयोग गरिरहेका व्यक्तिहरूमा भने यति अल्कोहललाई पनि उपयुक्त मानिँदैन
अल्सर
मदिराले स्वास्थ्य प्रणाली नै बिथोलिने हुँदा शरीरको विभिन्न भागमा एकैचोटि असर पर्छ । मदिरा सेवन गर्दा मासु र अन्य चिल्लो, पिरो खाद्य पदार्थहरू प्रयोगमा ल्याइन्छ, जसले गर्दा ग्यास्ट्रिकको समस्या निम्तिन्छ । लगातार अस्वस्थ खानपानले पाचन प्रणालीमा नै असर पुग्ने गर्छ, जसले बिस्तारै अल्सरको रूप लिन्छ ।
मुटुमा समस्या
सामान्यतया रक्तचाप र सुगर लेभलमा समस्या भएका व्यक्तिहरूमा अल्कोहलको थोरै प्रयोगले समेत असर पुग्छ । अल्कोहल र सँगै खाइने अस्वस्थ खानपानले एक्कासि रक्तचाप बढाउने वा घटाउने, शरीरमा चिनीको मात्र बढाउने गर्छ । जसको सीधा असर मुटु र मस्तिष्कमा परिरहेको हुन्छ । अल्कोहल कन्ज्युमका कारण मुटुमा देखिने समस्यालाई अल्कोहोलिक कार्डियो मायोप्याथी भन्ने गरिन्छ । यस्तो अवस्थामा धड्कन बढ्ने, मुटुको चालमा परिवर्तन आउने र लगातार प्रयोगकर्तामा दीर्घकालीन समस्याको जोखिम बढ्दै जाने हुन्छ । एक्कासि ब्लड प्रेसर बढ्दा आँखा, मस्तिष्कजस्ता अंगमा समस्या ल्याउँछ, कतिपय अवस्थामा पक्षघातको जोखिम पनि रहन्छ ।
क्यान्सर
लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै मानिन्छ । लगातार सेवनकर्तामा मुख, घाँटी, आन्द्रामा समेत क्यान्सरको सम्भावना हुने गर्छ ।
अल्कोहोलिक डिसअर्डर
अल्कोहल प्रयोगकर्तामा मुख्य समस्या अल्कोहोलिक डिसअर्डर हो । सामान्यतया १०० प्रतिशत अल्कोहल शक्ति भएको प्रतिव्यक्ति मदिराको खपत ५.५ लिटर छ । सन् २०२० मा ६.६ लिटर थियो भने २०२५ मा ७ लिटर हुने अनुमान गरिएको छ । मदिरा सेवनलाई सामाजिक रूपमा स्वीकार गर्दै जानु, सानो उमेर र महिला सेवनकर्ताको दर बढ्दै गइरहेकाले बढ्ने प्रक्षेपण गरिएको हो । अर्थात् शरीरले धान्न सक्नेभन्दा बढी अल्कोहल सेवन गर्दा शरीरले सन्तुलन गुमाउँदै जानुलाई अल्कोहोलिक डिसअर्डर भनिन्छ ।
बढी अल्कोहलले शरीरमा रक्तचाप, कोलेस्ट्रोल, सुगर आदि अनियन्त्रित गर्ने हुँदा शरीरमा रहेका न्युरोन्सहरूले काम गर्न छोड्दा डिसअर्डरको समस्या देखिने हुन्छ । बिस्तारै एन्जाइटी र डिप्रेसनको समस्या आउने पनि यही कारणले हो । यस्ता व्यक्तिहरूको बिस्तारै सामाजिक व्यवहार समेत खस्किँदै जाने भएकोले व्यक्तिको शरीरमा मात्रै नभई परिवार र समाजमा समेत असर गरिरहेको हुन्छ ।
अल्कोहलको मानक कति ?
कति मदिरा पिउनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने मानकबारे विभिन्न धारणाहरू पाइन्छन् । अल्कोहलले गर्ने न्यून फाइदाको विषयलाई लिएरसमेत अल्कोहलको प्रयोगबारे बहस भइरहेको पाइन्छ । सामान्यतया स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्षेत्रमा ३६० एमएल बियर, १६० एमएल वाइन र ३० एमएल स्प्रिटलाई लाइट टु मोड्रेड ड्रिङ्क मान्ने गरिन्छ । तर, २१ वर्षमुनि उमेर समूह, गर्भवती महिला, ड्राइभिङ र अन्य सीपसम्बन्धी काम गर्नुभन्दा अगाडि, मेडिकेसन प्रयोग गरिरहेका व्यक्तिहरूमा भने यति अल्कोहललाई पनि उपयुक्त मानिँदैन । अल्कोहलको मात्राबारे डा. मिश्र भन्छन्, ‘अल्कोहलको मात्राबारे आ–आफ्नै धारणा छन् । पहिलेदेखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा थोरै अल्कोहलले समेत असर गर्ने गर्छ । तसर्थ अल्कोहल सेवन सकेसम्म गर्नुहुँदैन ।’