कोरोना कहरका बीच आन्तरिक राजस्व कार्यालय बाग्लुङले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ८६ करोड २० लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।
‘हामीले गत वर्ष पनि कोरोना महामारीका बाबजुद ९९ करोड ९७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेका थियौं,’ अन्तरिक राजस्व कार्यालय बाग्लुङका कार्यालय प्रमुख जनकराज शर्माले भने, ‘कोरोना महामारीकै कारण यस वर्ष गत वर्षभन्दा कम लक्ष्य हामीलाई तोकिएको थियो । हामी लक्ष्यभन्दा ५० करोड भन्दा बढी राजस्व संकलन गर्न सफल भएका छौँ ।’
गत वर्षको तुलनामा आव २०७७/०७८ मा १३५.६ प्रतिशत प्रगति भएको उनको भनाइ छ । ‘कोभिडका कारण समग्र विश्व नै प्रभावित हुँदा हाम्रो कार्यालयको काम पनि प्रभावित हुने नै भयो,’ उनले भने, ‘त्यसका बाबजुद हामी १३५ प्रतिशत बढी प्रगति हासिल गर्न सफल भएका छौँ ।’ कार्यालयले आयकरतर्फ ७९ करोड ७ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । गत वर्ष यही शीर्षकमा ५३ करोड १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो । बहालकरतर्फ दुई करोड ७७ लाख ९१ हजार संकलन भएको छ।
ब्याजकरतर्फ ९ करोड ६७ लाख ५७ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । मूल्य अभिवृद्धि करतर्फ ४१ करोड ७६ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अन्तःशुल्क कर दुई करोड ४० करोड ९३ लाख रुपैयाँ, स्वास्थ्य कर १० लाख ८७ हजार, शिक्षा कर ८६ हजार राजस्व संकलन भएको शर्माले जानकारी दिए । ‘यो क्षेत्रमा स्वास्थ्य र शिक्षा कर एकदमै कम रहेको छ,’ उनले भने सानो ठाउँमा सानो कारोबारबाट संकलन हुने राजश्वका बाबजुद हामीले राम्रो काम गर्न सफल भएका छौं ।’
आन्तरिक राजस्व कार्यालय बाग्लुङमा अहिले १६ हजार १५५ व्यवसायी आयकरमा दर्ता भएका छन् । २७ हजार दुई सय २५ जना व्यक्तिगत आयकरमा दर्ता भएका छन्। कार्यालयमा मूल्य अभिवृद्धिकरमा एक हजार चार सय ३४ र अन्तःशुल्क करतर्फ एक हजार ६७ करदाता रहेको कार्यालयले जनाएको छ । कार्यालयले सबै प्रकारका करदाता गरी ४३ हजार ४६९ करदाताबाट कर संकलन गरेको हो ।