तरबारको धारमा हिँडेर माधव नेपालले संविधान र गणतन्त्र बचाउनुभयो : नेता जोशी

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ठूलो जोखिम मोलेर कम्युनिस्ट नैतिकता, आदर्श, संविधान र लोकतान्त्रिक गणतन्त्र बचाएको भन्दै प्रशंसा गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जोशीले त्यत्रो जोखिम मोलेर कम्युनिस्ट आदर्श बचाउने नेतालाई विभाजनकारी भनेर दुष्प्रचार गर्न खोजिएकोमा आपत्ति प्रकट गरे।

‘आजको अवस्थामा माधव नेपाल कमरेडप्रति मेरो श्रद्धा छ, जसले तरबारको धारमा हिँडेर पनि कम्युनिस्ट आदर्श, नैतिकता बचायो, तर बहुत दुःखका साथ भन्छु, स्वयं माधव नेपाल धोकाधडी खाने स्थितिमा हुनुहुन्छ। उहाँमाथि अनेक दबाब छ, एमाले विभाजन गर्न खोजेको भनेर दुष्प्रचार गर्न खोजिएको छ,’ जोशीले भने, ‘कमरेड प्रचण्ड र चित्रबहादुर केसीको साथमा त सिंगो पार्टी थियो, तर कमरेड माधव नेपालले पार्टी विभाजितजस्तो अवस्थामा पनि कम्युनिस्ट नैतिकता, लोकतन्त्र, गणतन्त्र जोगाउन बलिदान दिएर अघि बढ्ने साहस देखाउनुभो, उहाँ श्रद्धा र धन्यवादको पात्र हुनुहुन्छ।’  

आफूले १४ वर्ष केशरजंग रायमाझीको राजसंस्थातिर ढल्किने रुझानसँग संघर्ष गरेकाले सही विचारका लागि अन्तर्संघर्ष कति कठिन हुन्छ भन्ने भोगेको स्मरण गर्दै उनले माधव नेपालकै नेतृत्वमा सिंगो एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्ने पनि बताए।
 

सुझावित समाचार