इजरायलले एनएसओ समूहले निर्माण गरेको पेगासस स्पाइवेयर (जासुसी सफ्टवेयर)सम्बन्धी कानुनको समीक्षा गर्ने भएको छ। कम्पनीका ग्राहकहरूले स्पाइवेयर दुरुपयोग गरी पत्रकार तथा मानव अधिकारकर्मीमाथि निगरानी बढाएको भन्दै चौतर्फी आलोचना भएपछि इजरायलले यससम्बन्धी नियममा विचार गर्ने प्रतिक्रिया दिएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले आकस्मिक रूपमा साइबर सुरक्षा बैठक आह्वान गरेपछि इजरायलले आफ्नो नियमको समीक्षा गर्न लागेको हो। म्याक्रोन र उनको सरकारका मन्त्रीहरूमाथि पनि निगरानी गरिएको पाइएपछि उनीहरूले आफ्नो मोबाइल र फोन नम्बर परिवर्तन गरिसकेका छन्।
एनएसओले पटकपटक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकको निशानामा म्याक्रोन रहेको भन्ने कुरा अस्वीकार गरेको छ। आतंकवाद र अपराधको अनुसन्धान गर्ने उद्देश्यले बनाइएको आफ्नो जासुसी सफ्टवेयर सरकारका प्रतिनिधिहरूलाई मात्र बिक्री गरिएको उसको दाबी छ।