देउवानिवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर, क्रियाशील सदस्यता विवाद समाधान र निर्वाचन निर्देशिकाबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूको बैठक अहिले बिहान बस्दै छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नो निजी निवासमा शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाएका छन् । 

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । देउवा प्रधानमन्त्री भएपछि गत बिहीबार कांग्रेसको बैठक  सरकारी निवास बालुवाटारमा बसेको थियो । 

तर, त्यसको सर्वत्र आलोचना भएपछि देउवाले पार्टीको बैठक सरकारी निवासमा नगर्ने निर्णय लिएका छन् । त्यसैअनुसार शुक्रबारको बैठक बुढानीलकण्ठस्थित सभापतिको निवासमा बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

कांग्रेसको केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर धर्ना र अनशन बसेका कार्यकर्ताले भरिएको छ । त्यहाँ जाँदा कार्यकर्ताले घेराबन्दी गर्ने भएपछि देउवाले पार्टीको बैठक आफ्नै निवासमा बोलाएका हुन्। 

बैठकले महाधिवेशनको कार्यतालिका हेरफेरबारे निर्णय गर्न सक्ने एक नेताले बताए । ‘क्रियाशील सदस्यताको विवाद समाधानबारे छलफल हुन्छ । निर्वाचन निर्देशिका पनि पारित गर्नुपर्नेछ । सहमति भए आजै महाधिवेशनको कार्यतालिका पनि हेरफेर हुन सक्छ,’ ती नेताले भने । 

कांग्रेसको वडा तहको अधिवेशन १२ साउनमा हुने कार्यतालिका छ । तर, त्यसको तयारी भएको छैन । वडा तहको अधिवेशन सार्नैपर्ने अवस्था आइसक्दा पनि नेताहरू केन्द्रीय महाधिवेशनको मिति सार्न नहुने पक्षमा छन् । 

सुझावित समाचार