जसपा विवाद : एकता बखतकै ५१ नेतालाई सनाखतका लागि बोलाउने निर्वाचन आयोगको निर्णय

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएको छ । आयोगले पार्टी आधिकारिकता सम्बन्धमा जसपा एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।
 
दुवै पक्षको बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको हो । सनाखतका लागि ११ साउनको बिहान ११ बजे नागरिकताको सक्कलसहित ५१ उपस्थित हुन आयोगले भनेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । 

निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो। निर्वाचन आयोगमा बिहीबार यादव र ठाकुर पक्षका कानुन व्यवासयीले बहस गरेका थिए।

अध्यक्ष उपेन्द्र यादव पक्षले एकताताकाकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पुनर्गठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो । ठाकुर पक्षले आफूनिकट नेतालाई कार्यकारिणी समितिमा मनोनीत गर्दै आफूसँग बहुमत रहेको दाबी आयोगमा गरेको थियो ।

साउन ३ गतेदेखि आयोगको इजलासमा बहस भइरहेको थियो। जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफू आधिकारिक भएको दाबी गरेका थिए।

बहसपछि आयोगले साउन ११ गते दुवै पक्षका कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए । सनाखतपछि आयोगले फैसला सुनाउने उनले जानकारी दिए।

सुझावित समाचार