नेपाल पक्षले ओलीलाई भन्यो– गलत र उत्तेजक कार्य रोकेर पार्टी एकतामा लाग्नू (भिडियोसहित)

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गलत र उत्तेजक नारा रोकेर पार्टी एकताको पक्षमा लाग्न अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएको छ ।

नेपाल पक्षको बुधबार बसेको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १०बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा–जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरूप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

बैठकमा सबै नेताले एकतामै जोड दिएको नेता रघुजी पन्तले जानकारी दिए । एकता वार्ता जारी रहेको अवस्थामा फेरि स्पष्टीकरण सोधेर भाँजो हाल्ने काम भएको पन्तले बताए । 

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । सर्वोच्चले संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलीय ह्विप नलाग्ने आदेश दिएको छ । तर, एमालेले देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी जवाफ चित्तबुझ्दो नआए पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।
 

सुझावित समाचार