चीनको ग्रेटवाल मोटर्सका ३ नयाँ गाडीको नेपाली बजारमा बिक्री सुरु भएको छ । विशाल ग्रुपअन्तर्गतको कम्पनी भिजी इम्पेक्स प्रालिले नेपालका लागि आधिकारिक विक्रेताका रूपमा उक्त गाडी नेपाल भित्र्याएको हो ।
विभिन्न क्षेत्रमा सफलता सँगालेको अनुभवलाई उपयोग गर्दै ग्रेटवाल मोटर्सका दुईवटा एसयुभी र एउटा पिकअप बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । तीनवटै गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कम्पनीले बिक्रीका लागि थापाथलीमा सोरुम सञ्चालनमा ल्याएको छ । चाँडै नै उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नै सोरुमहरूको बृहत् सञ्जाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ । भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सको फोरएस सर्भिसेज (सेल्स, सर्भिस, स्पेयर्स र सर्भे कस्टमर केयर) मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने दाबी गरेको छ ।
थर्ड जेनेरेसन हाभेल एचसिक्स
यो गाडी एसयुभी वर्गमा सुविधा र लक्जरी तथा शक्ति र विलासिताको संगम रहेको कम्पनीको दाबी छ । यसको २.० लिटरको टर्बो पेट्रोल इन्जिनले १५० किलोवाट शक्ति र ३२० एनएम टर्क डिस्प्लेसमेन्ट रहेको जनाइएको छ । उच्च ग्राउन्ड क्लियरेन्सले नेपालकोे खाल्डाखुल्डी भएका सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनुका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ ।
७२ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीमा पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंक्सनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङ यसको विशेषता रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, आठवटा एयर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामरा, हिलहोल्ड कन्ट्रोल, एबिएस प्लस इबिडी सुविधा र एन्टी–कोलिजन संयन्त्र र फर्वाड कोलिजन संयन्त्रजस्ता विशेषताले उच्च सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रहिरहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिने कम्पनीले उल्लेख गरेको छ । तीन रङमा उपलब्ध यो गाडीको मूल्य ९७ लाख रुपैयाँ तोकिएको छ ।
पोर पिकअप
यो मोडल एलिट र पाइलट गरी दुई मोडलमा उपलब्ध रहेको जनाइएको छ । यसमा रहेको २.० लिटरको डिजेल इन्जिनले १२० किलोवाट शक्ति र ४ सय एनएम टर्क डिस्प्लेसमेन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । बढी ग्राउन्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउन सहज हुनुका साथै ८४ प्रतिशत उच्च गुणस्तरको स्टिलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थिरता र मजबुती यसको विशेषता रहेको कम्पनीको भनाइ छ ।
पिकअप गाडीमा सनरुफ रहेको पहिलो गाडी भएको कम्पनीको दाबी छ । यसमा साँचोरहित स्टार्ट गर्ने सुविधा, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, ८ वटा एयर ब्याग, लेदर सिट, एबिएस, हिलहोल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषता रहेको जनाइएको छ । यसको मूल्य कम्पनीले ६५ लाख रुपैयाँ तोकेको छ ।
हाभेल जोलियन
यो मोडलका एसयुभीमा १५ लिटरको टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिने जनाइएको छ । बढी ग्राउन्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउन सहज हुने कम्पनीको दाबी रहेको छ ।
४ किसिमको ड्राइभ मोड, इलेक्ट्रिक पार्किङ ब्रेकिङ र ७३ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीमा पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंक्सनल स्टेरिङ र प्याडल सिफ्टरजस्ता विशेषता रहेको छ । त्यस्तै, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एयर ब्याग, लेदर सिट, एबिएस, हिलहोल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । पाँच विभिन्न रङमा उपलब्ध यो गाडीको मूल्य ५५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।