झलनाथ खनाललाई प्रधानमन्त्री देउवाको फोन : सरकारमा सहभागी हुनेबारे पनि सुझाब दिनुहोला

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई फोन गरेर स्वास्थ्यलाभको कामना गरेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका देउवाले त्यहीँबाट खनाललाई फोन गरेका थिए। 

‘भाउजूको स्वास्थ्यस्थिति बुझेपछि उहाँले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। त्यसपछि छलफलका क्रममा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पनि फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘उहाँले सरकारमा सहभागी हुनेबारेमा समेत उपयुक्त सुझाब दिनुहोला भनेर आग्रह गर्नुभएको छ।’ 

देउवाले प्रतिनिधिसभामा विश्वासको मत दिएको नेकपा एमालेको माधवकुमार नेपाल समूह अहिले छलफलमा छ। उसले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गरिसकेको छैन।

विश्वासको मत दिने सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका प्रधानमन्त्री देउवाले खनाललाई नेपाल समूहलाई सरकारमा सहभागी हुनेबारेसमेत उपयुक्त सल्लाह दिन आग्रह गरेका हुन्।  यसअघि विश्वासको मत लिने वेला पनि उपचाररत रहेका खनालले विज्ञप्ति जारी गर्दै संविधान र लोकतन्त्रको रक्षाका निमित्त देउवालाई विश्वासको मत दिन आह्वान गरेका थिए।
 

सुझावित समाचार