स्पष्टीकरण सोधिएका सांसद भन्छन्– पत्र आएको छैन, सञ्चारमाध्यममा सुनेको हो

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका २२ सांसदले पार्टीले स्पष्टीकरण सोधेको पत्र नपाएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर गम्भीर रूपमा पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा माधव नेपालसहित २२ सांसदलाई कारबाहीका लागि २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। 

स्पष्टीकरणको पत्र प्राप्त नभएको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए। ‘हामीलाई स्पष्टीकरण सोधियो भन्ने सञ्चारमाध्यमबाट थाहा पाएको हो,’ खतिवडाले भने, ‘कुनै पत्र प्राप्त भएको छैन। अवैधानिक कमिटीले स्पष्टीकरण सोध्ने हैसियत राख्दैन।’

स्पष्टीकरण सोधिएको भन्दै कारबाहीको बहाना बनाएको हुन सक्ने उनले बताए।

एमाले संस्थापनले नेपालसहितले पार्टी निर्देशन उल्लंघन गरेको भन्दै स्पष्टीकरणको प्रक्रिया पुर्याएर कारबाहीको तयारी सुरु गरेको हो। आज ३ बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ। उक्त बैठकले २२ सांसदबारे निर्णय लिन सक्ने बताइएको छ।

See More On

सुझावित समाचार