आयल निगमद्वारा इआरपी प्रणाली लागू पहिलो दिनमै एक अर्बको इन्धन बिक्री

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण
आयल निगमद्वारा इआरपी प्रणाली लागू पहिलो दिनमै एक अर्बको इन्धन बिक्री

नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा इआरपी सिस्टमबाट तेल बिक्री गरेपछि बिल देखाउँदै कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायत ।

नेपाल आयल निगम लिमिटेडले एक वर्षको तयारीपछि इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली आइतबारबाट लागू गरेको छ । इन्धन कारोबारको सम्पूर्ण हिसाब पारदर्शी रूपमा राख्न मिल्ने यो प्रणालीले निगमभित्र वित्तीय अनुशासन कायम गर्न र चुहावट नियन्त्रण गर्न सघाउ पुग्ने दाबी गरिएको छ । इआरपी लागू भएको पहिलो दिन नै आयल निगमले १ अर्ब रुपैयाँको इन्धन बिक्री गरेको प्रणालीमा देखिएको छ । 

इआरपीका माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोड्न सुरु गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताए । ‘आइतबार दिउँसोबाट इआरपी सिस्टम लागू भएको छ । सबै डिपोले इआरपी सिस्टमबाटै इन्धनको बिलिङ सुरु गरेका छन्,’ उनले भने ।

प्रवक्ता उपाध्यायका अनुसार झापाको चारआली, विराटनगर, अमलेखगन्ज, काठमाडौंको थानकोट, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढीलगायतका डिपोबाट इआरपी प्रणालीबाटै तेल पठाइएको छ । इआरपी प्रणालीको कार्यान्वयनमा निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज सबैभन्दा प्रभावकारी देखिएको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार बिहान १० बजे कार्यालय खुल्नासाथ इआरपी प्रणालीबाटै तेलको बिलिङ थालिएको थियो । ‘दिनभरमा २ सय ट्यांकरबाट ४ हजार किलोलिटर तेल बिक्री भएको छ,’ उनले भने, ‘जुन अहिलेसम्मै सबैभन्दा बढी बिक्री हो ।’

अनलाइन प्रणालीबाटै तेल खरिद–बिक्री हुने भएकाले धेरै सजिलो भएको यादवले बताए । ‘तेल खरिद गर्न चाहने व्यवसायीबाट लाइन लगाएर बैंक भौचर लिई रकम बुझ्ने झन्झट गर्नुपरेन, त्यसैले छिटो काम गर्न सकियो,’ यादवले भने । निगमले यसअघि गत ३ वैशाखबाट इआरपीको परीक्षण कार्यान्वयन थालेको थियो । त्यतिखेर तयारी नपुगेकाले स्थगित गरेर आइतबारबाट लागू गरिएको प्रवक्ता उपाध्यायले बताए । इआरपी सिस्टम लागू गरेपछि पेट्रोलपम्प व्यवसायीले घरमै बसेर इन्धन खरिदका लागि पैसा भुक्तानी गरेका छन् ।

निगमका अनुसार पम्प व्यवसायीलाई सिस्टमको युजरनेम र कोड दिइएको छ । त्यसबाटै ‘लग–इन’ गरेर खरिद गर्न चाहेको इन्धनको परिमाणबराबरको रकम बैंक एकाउन्ट लिंक गरेर निगमको खातामा जम्मा गर्न सक्छन् । इआरपी लागू हुनुअघि तेल खरिद गर्न चाहेको परिमाण निगमबाट स्वीकृत गर्ने, सो परिमाणबराबरको रकम बैंकमा जम्मा गरेर त्यसको भौचर निगमको डिपोमा पेस गर्ने र त्यसपछि मात्रै तेल खरिद गर्न पाउने झन्झटिलो व्यवस्था थियो ।आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इआरपी कार्यान्वयनमा आएपछि व्यवसायीले घरमै बसेर अनलाइन भुक्तानी गरी तेल खरिद गर्न सक्ने जानकारी दिए । त्यस्तै, ट्यांकर व्यवसायीले पनि इन्धन ओसारेबापतको ढुवानी भाडा खातामै पाउने भएकाले निगम धाउनुनपर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।

‘यो प्रणालीले व्यवसायीलाई इन्धन खरिद गर्न, ढुवानी भाडाबापतको रकम भुक्तानी लिन सहजीकरण गर्छ भने निगमभित्र वित्तीय अनुशासन कायम गर्न र चुहावट नियन्त्रण गर्न सघाउ पुग्छ,’ पौडेलले भने ।आयल निगमले चाँडै इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद गर्ने इन्धनको भुक्तानीसमेत इआरपी प्रणालीबाटै गर्ने जनाएको छ । निगमले हाल मासिक साढे १२ अर्ब रुपैयाँ इन्धन खरिद गरेबापत आइओसीलाई भुक्तानी दिँदै आएको छ । विश्वव्यापी रूपमा करिब ८० प्रतिशत तेल उत्पादक कम्पनीले इआरपी प्रविधि प्रयोग गर्दै आएकाले निगमले पनि प्रयोगमा ल्याएको पौडेलले बताए ।

आइओसीको सेक्युरिटी सिस्टमसँग पनि इआरपी जोड्ने योजना रहेको कार्यकारी निर्देशक पौडेलले बताए । उनका अनुसार आइओसीको डिपो पुगेको ट्यांकरमा कुन वेला तेल लोड भयो, कति वेला निस्क्यो, बाटोमा ढुवानीको समयमा कुनै अवरोध भयो–भएन र निगमको डिपोभित्र कुन वेला छि¥यो भन्ने सबै गतिविधि हेर्न सकिन्छ । बीचबाटोमा ट्यांकर रोकेर इन्धन चोरी गर्न खोजियो भने तत्कालै सिस्टममा थाहा हुने र चुहावट नियन्त्रण गर्न सकिने निगमले जनाएको छ । यो सिस्टममा गुणस्तर नियन्त्रणलाई पनि राखिएको छ । कुनै ट्यांकरको पेट्रोलियम पदार्थमा कुनै खराबी आयो वा अन्य पदार्थ मिसियो भने सिस्टमबाट त्यसको रिपोर्ट सम्बन्धित विभागमा पुग्ने व्यवस्था गरिएको छ ।  

 इआरपीका कारण  आइतबार इन्धन आपूर्ति असहज
आयल निगमले इआरपी लागू गर्नका लागि शुक्रबारदेखि देशभरका पम्पमा इन्धन वितरण रोकेको थियो । जसकारण आइतबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा रहेका पम्पमा इन्धन सकिएको थियो । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बिहीबारसम्म पर्याप्त तेल दिएर शुक्रबारबाट बन्द गरिएकाले केही स्थानका पम्पमा समस्या आएको हुन सक्ने बताए ।

इआरपी सिस्टमबाट हुने काम

  • पम्प व्यवसायीले अनलाइनबाटै तेल खरिदको रकम भुक्तानी गर्न सक्छन्,
  • ढुवानी व्यवसायीले इन्धन ओसारेबापतको ढुवानी भाडा अनलाइनबाटै भुक्तानी पाउँछन्,
  • विश्वका ८० प्रतिशत तेल कम्पनीले प्रयोग गर्दै आएको सफल सफ्टवेयर,
  • डिपोबाट निस्केको कुन ट्यांकर कति तेल लिएर जाँदै छ भन्ने हेर्न मिल्छ,
  • तेल बोकेको ट्यांकरमा बीचबाटोमै कुनै समस्या आयो भने तत्काल थाहा पाउन सकिन्छ,
  • आइओसीलाई अनलाइनबाटै रकम भुक्तानी गर्न सकिन्छ,
  • आइओसीबाट लोडिङ भएको तेल निगमको डिपोमा प्रवेश गरेसम्मको सबै गतिविधि थाहा हुन्छ,
  • आइओसीको सेक्युरिटी सिस्टमसँग जोडिने भएकाले चुहावट नियन्त्रण गर्न सकिन्छ,
  • निगमभित्रको अन्तरविभागीय कागजात सिस्टममै अपलोड गरी रुजु गर्न र हेर्न मिल्छ ।

सुझावित समाचार