नेप्से परिसूचक शतप्रतिशत र कारोबार रकम दश गुणाले बढ्यो
कोभिडका कारण अन्य क्षेत्र प्रभावित देखिए पनि सेयर बजारमा भने मनग्य लगानी भएको छ । सेयर बजारमा गत आर्थिक वर्षमा कारोबार रकम करिब १० गुणा (९ सय ७४ प्रतिशत) बढेर १४ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने मात्रै १ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै कारोबार भएको थियो ।
नाकाबन्दी र आंशिक बन्दले अन्य क्षेत्र निष्क्रिय हुँदा लगानीकर्ता बजारमा केन्द्रित भएका हुन् । यही समय सेयर लगानीकर्ता, अनलाइन कारोबारको संख्यालगायतमा भएको वृद्धिले बजारलाई नयाँ उचाइमा पुर्याएको हो । सेयर बजार परिसूचक नेप्से पनि गत आवमा १ सय ११ प्रतिशतले बढेर २ हजार ८ सय ८३ मा बन्द भएको छ ।
गत साता
गत साता भने नेप्से परिसूचक करिब ५९ अंकले बढेको छ । कारोबार रकमसमेत गत साता ६२ प्रतिशतले बढेर ३७ अर्ब रुपैयाँ पुगेको छ । गत साता होटेल, उत्पादनमूलक, व्यापारमूलक र ‘अन्य’ समूहगत परिसूचकमा मात्रै गिरावट आएको छ । ओरियन्टल होटेलको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ भने मल्टिपर्पोज फाइनान्सको करिब २८ प्रतिशतले मूल्य बढेको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेले साउनयता कारोबारको प्रिसेसनमा मूल्य परिवर्तनमा नयाँ व्यवस्था लागू गरेको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरी प्रिओपन सेसनमा अधिकतम २ प्रतिशत मात्र मूल्य तल–माथि भएर खरिद–बिक्री आदेश राख्न पाइने व्यवस्था गरेको छ । हाल ५ प्रतिशतको मूल्य परिवर्तन सीमा छ । नियमित कारोबारमा समेत मूल्य तोक्दा पैसासमेत उल्लेख गरेर कारोबार गर्न सकिने व्यवस्था गरेको छ । अबदेखि कुनै पनि सेयरको कारोबार गर्दा अघिल्लो अन्तिम मूल्यमा १० पैसा थपेर वा घटाएरसमेत कारोबार गर्न सकिने भएको हो । प्रतिस्पर्धी बोलकबोल प्रक्रियालाई सघाउने र लगानीकर्ताको मनोविज्ञान बुझ्न यसले सहयोग पुग्ने मानिएको छ ।
हाल प्रवृत्ति
गत साताको अन्तिम ३ दिन बढेकोे नेप्सेले लगानीकर्ताले निर्णय गर्न नसकिरहेको संकेत गरिरहेको छ । अन्तिम दिन बनेको डोजी आकृतिले यही संकेत गर्छ ।मुभिङ एभरेज रेखाले भने शुभ संकेत दिन लागेको छ । ७ दिने मुभिङ रेखालाई काटेर केही दिन अघिदेखि माथि लागेको नेप्सेको २१ दिने रेखाबीचको दूरी लगभग सकिएको छ । यदि ७ दिने रेखा माथि लागेमा बजार बढ्न थाल्ने विश्लेषण गरिन्छ । बुलिस प्रवृत्ति सुरु भएको संकेत दिने यो गोल्डेन क्रस ओभर भए–नभएको स्पष्ट भइसकेको छैन । केही दिन बजारको अवलोकन गर्नु सही हुन्छ ।
१४ दिने आरएसआई सूचकले बजार अधिक बिक्रीको अवस्थाबाट सामान्य भएको संकेत गरेको छ । यो सूचक स्केल ५२ दशमलव २४ मा छ । सामान्य घटबढ भइरहे पनि माग र आपूर्तिबीच सन्तुलन देखिन थालेको यसको संकेत छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ ।
सातामा २ हजार ९ सय २९ को बिन्दु छोएको नेप्सेले पिभट विश्लेषणअनुसार आगामी १ सातामा २ हजार ९ सय २७ मा पहिलो प्रतिरोध पाउनेछ र यस प्रतिरोधका कारण ओरालो लागेमा नेप्सेले २ हजार ८ सय ४१ मा पहिलो टेवा पाउनेछ । वर्षकै अन्तिम बिन्दुका आधारमा उच्च, न्यून र बन्द बिन्दुले भने नेप्सेले आगामी १ वर्षमा ३ हजार ४ सय ८५ को लक्ष्य लिएर अगाडि बढ्नेछ भने घटेमा १ हजार ८ सय २१ मा पहिलो टेवा पाउनेछ ।