विश्वभर कोरोनाविरुद्धको तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार एक सय १४ डोज खोप लगाइएको छ । त्यसमध्ये झन्डै आधा चीनमा मात्रै लगाइएको छ । चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३९ करोड ९६ लाख ९५ हजार आठ सय ७९ डोज खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार एक सय ५२ डोज खोप लगाइएको छ । जर्मनीमा आठ करोड ४९ लाख ८९ हजार आठ सय ५० डोज, बेलायतमा आठ करोड २३ लाख ९२ हजार एक सय ९४ डोज खोप लगाइएको तथ्यांक छ ।
यस्तै, जापानमा ६ करोड ६७ लाख १४ हजार पाँच सय २८ डोज, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार आठ सय पाँच डोज, टर्कीमा ६ करोड २४ लाख १२ हजार दुई सय ३४ डोज र इटालीमा ६ करोड पाँच लाख ७१ हजार तीन सय ४१ डोज खोप लगाइएको छ ।
ब्राजिलमा २४ घन्टामा १४ सय ५६ को मृत्यु
साओ पाओलो/कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देशमध्ये ब्राजिलमा पछिल्लो २४ घन्टामा कोभिड संक्रमणबाट एक हजार चार सय ५६ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा शनिबार एक हजार चार सय ५६ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ब्राजिलमा संक्रमणबाट ज्यान गुमाउने पाँच लाख ४० हजार पाँच सय ८८ जना पुगेका छन् ।
यहाँका अधिकारीहरूका अनुसार अघिल्ला दिनहरूको तुलनामा शनिबार संक्रमणबाट धेरै नागरिकको निधन भएको छ । त्यसैगरी, संक्रमित हुनेको संख्या पनि पछिल्लो २४ घन्टामा ४५ हजारजना रहेको छ । योसमेत गरी ब्राजिलमा कोभिड संक्रमित हुने नागरिक एक करोड ९३ लाखभन्दा बढी भइसकेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलमा दुई महिनाअघि संक्रमित घटे पनि पछिल्ला केही दिनयता यो संख्या बढ्दै गएको छ । सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर देशव्यापी अभियानका रूपमा सञ्चालन पनि गरिरहेको छ । ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी संक्रमणमा परेको सहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितमा २५७ जनाको निधन भएको तथ्यांकले देखाएको छ ।
भारतमा आगामी सय दिन निकै जोखिमपूर्ण

नयाँदिल्ली/भारत सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा बढिरहेको जनाएको छ । यसकारण सचेत रहन सरकारले नागरिकलाई जोड दिएको हो ।
नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ इन्डियाका सदस्य भिके पाउलले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको चेतावनी दिएका छन् । उनले त्यो वेभ आगामी सय दिनदेखि १२५ दिनमा आउन सक्ने बताएका छन् । उनले भने, ‘हाम्रो जनसंख्या धेरै छ र यसकारण यहाँको अवस्था निकै खतरापूर्ण हुन सक्छ । हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौँ भने ठूलो क्षति पुग्न सक्छ ।’
विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको महामारीविरुद्धको सतर्कताको अवस्था हेर्दा पर्याप्त नभएको र आवश्यक मात्रामा थप सतर्कता अपनाउनुपर्ने जनाएको छ । यसअघि पनि भारतका अधिकारीहरूले आगामी अगस्ट महिनाको अन्त्यतिरबाट तेस्रो वेभ आउन सक्ने जनाएका थिए ।
अमेरिका र युरोपमा संक्रमित फेरि बढ्न थाले
डब्लुएचओका अनुसार पछिल्लो समय ब्राजिलमा संक्रमित संख्या बढिरहेको छ । गत साता मात्र ब्राजिलमा तीन लाख ४९ जना संक्रमित भएका थिए । यस्तै अमेरिकामा एक साताभित्र ६७ प्रतिशत संक्रमित बढेका छन् । स्पेनमा ६७ प्रतिशत, इन्डोनेसियामा ४५ प्रतिशत तथा बेलायतमा ६७ प्रतिशत संक्रमित संख्या बढेका छन् । दक्षिण एसियामा भारत निकै जोखिमपूर्ण अवस्थामा छ ।
एक सय ११ देशमा पुग्यो डेल्टा भेरियन्ट
युएन समाचार एजेन्सीका स्वास्थ्य विज्ञहरूले युरोप तथा उत्तर अमेरिकामा तेस्रो लहरको कोरोना पैmलिरहेको बताएका छन् । यी दुवै क्षेत्रमा तत्कालै खतराको घन्टी बजाउनुपर्ने विज्ञहरूको सुझाब छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस आदनम गेब्रियससका अनुसार कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट हरेक साताजसो देखिइरहेको छ ।
‘डोल्टा भाइरस विश्वका ६ क्षेत्र र एक सय ११ देशमा फैलिसकेको छ,’ गेब्रियससले भने, ‘यही गतिमा बढ्दै जाँदा विश्वभर चाँडै नै फैलिन सक्छ ।’ यसैगरी अल्फा भेरियन्ट एक सय ७८ देश, बिटा एक सय २३ देश र गामा भेरियन्ट ७५ देशमा फैलिसकेका छन् ।