कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । समितिका प्रवक्तासमेत रहेका पौडेलले जिल्लाबाट पठाइएका क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको बताए ।
अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानबिन गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको उनले बताए । १४औँ महाधिवेशनमा आठ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको उनले बताए । तर, कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकाले आठ लाख ५० हजार क्रियाशील सदस्य कायम हुन सक्ने उनको भनाइ छ ।
पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्ने उनले बताए । ‘अब प्राविधिक पाटोको मात्रै काम बाँकी छ’ पौडेलले भने ‘तीन–चार दिनमा क्रियाशील सदस्यहरूको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ ।’
क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकाले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने उनले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको उनले बताए ।
सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीमा पठाइएको र यसरी नेताहरूकोमा पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको पौडेलले जानकारी दिए ।