कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशनमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले लञ्च मिटिङ गरेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा डा.शेखर कोइराला र नेतृ सुजाता कोइराला पुगेका छन् । महाधिवेशनको सम्मुखमा सभापतिको दाबेदार बनेका तीन नेता एकै ठाउँमा जम्मा हुनुलाई कांग्रेस वृत्तमा महत्त्वका साथ हेरिएको छ । ‘खास केही योजना होइन, पारिवारिक भेटघाट हो, नियमित लञ्च मिटिङजस्तो मात्रै हो,’ सचिवालयले भनेको छ ।
हाल महामन्त्री रहेका डा. कोइराला कांग्रेसका संस्थापक नेता बिपीका छोरा हुन् । अर्का डा.कोइराला नोना कोइरालाका सुपुत्र हुन् भने नेतृ कोइराला पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । ‘आजै खास निर्णय हुने त कुरा होइन । तर, तीन नेता भेट हुँदा महाधिवेशनबारे छलफल हुने कुरा त सामान्य नै भयो’, डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।
संस्थापनइतर समूहबाट महाधिवेशनमा एकैजना उम्मेदवार बनाउने विषयमा छलफल भइरहेका वेला कोइराला परिवारका तीन आकांक्षी एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन् । महामन्त्री कोइरालाले आफूले मात्रै सभापति देउवालाई पराजित गर्न सक्ने बताउँदै आएका छन् भने केन्द्रीय सदस्य मात्रै रहेका नेता डा. कोइराला कांग्रेसको रुपान्तरण र भविष्यका लागि आफूसक्षम रहेको दाबी गरिरहेका छन् । उनी १३औँ महाधिवेशनलगत्तै नै सभापतिका लागि तयारीमा जुटेका थिए । नेतृ कोइरालाले पनि अहिलेसम्म कांग्रेसको सभापतिमा महिला नचुनिएको भन्दै आफू सभापतिका लागि सक्षम रहेको दाबी गरिरहेकी छिन् ।
एकले अर्काको साथ खोजिरहेका वेला तीन नेता एकै ठाउँमा भेला भएका वेला कांग्रेसको नेतृत्वमा कोइराला बिरासत उभ्याउने विषयमा छलफल हुने र एक जनामात्रै उम्मेदवार बन्नेबारे योजना बन्न सक्ने नेताहरूको भनाइ छ । यस्तै, हालै कांग्रेसको नेतृत्वमा बनेको सरकारमा आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।