खेलकुदको यो महाकुम्भ २३ जुलाईदेखि ८ अगस्टसम्म १७ दिन चल्नेछ, प्रतियोगिता विभिन्न ४२ वटा ‘भेनु’मा हुनेछन्
टोकियो ओलम्पिक–२०२० अन्तर्गतका प्रतिस्पर्धाहरू यसै साताबाट सुरु हुँदै छन् । कोरोना (कोभिड–१९) महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताका खेलहरू जापानको राजधानी टोकियो सहरमा हुँदै छन् । विश्व खेलकुदको यो महाकुम्भ मेलामा ३३ खेल समावेश छन् । प्रतियोगिता विभिन्न ४२ वटा ‘भेनु’मा हुनेछन्, जसबाट ३३९ पदकको निर्क्योल हुनेछ ।
३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको आधिकारिक उद्घाटन भने अर्काे शुक्रबार (२३ जुलाई)मा हुनेछ । यद्यपि, महिला फुटबल र सफ्टबलका प्रतिस्पर्धा यही बुधबारबाटै सुरु हुँदै छन् । प्रतियोगिता उद्घाटन भएको दोस्रो दिनबाट पदकको निश्चित हुनेछ । आधिकारिक रूपमा १७ दिनको यो प्रतियोगिता ८ अगस्टसम्म चल्नेछ । सोही साँझ प्रतियोगिताको समापन हुनेछ ।
गौरिकासँगै एलेक्सले संयुक्त रूपमा नेपालको झन्डा बोक्ने

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा नेपालबाट पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा संयुक्त रूपमा बोक्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले यसपटक टोकियो ओलम्पिकमा सहभागी खेलाडीहरूलाई लैंगिक समानता बनाउन उद्घाटनको मार्चपासमा पुरुष र महिलाले झन्डा बोक्ने जनाएको छ ।
यसै लैंगिक समानाताकै कारण नेपालबाट गौरिका र एलेक्सले संयुक्त रूपमा झन्डा बोक्ने अवसर पाएका हुन् । सन् २०१६ को रियो ओलम्पिकमा नेपालबाट जुडोकी फुपु ल्हामु खत्रीले देशको झन्डा बोकेकी थिइन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सर्वाधिक व्यक्तिगत पदक जितेकी गौरिकाको यो दोस्रो ओलम्पिक यात्रा हो ।
उनले रियो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीकी रूपमा रेकर्ड बनाएकी थिइन् । एलेक्सको यो पहिलो ओलम्पिक यात्रा हो । एलेक्ससँग साग, एसियन तथा विश्व पौडी च्याम्पियनसिपको अनुभव छ । २३ जुलाई देखि ८ अगस्टसम्म टोकियोमा हुने ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिक यही २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना हुनेछ । गत साता नै एलेक्स र गौरिका ओलम्पिकमा सहभागी हुन र प्रशिक्षण गर्न टोकियो पुगेका छन् ।
गौरिका भने बेलायतबाटै टोकियो पुगेकी थिइन् । दुवै खेलाडीले जापानको तोकुसिमामा प्रशिक्षण गरिरहेका छन् । नेपालसँगै अन्य सहभागी देशले पनि उद्घाटन समारोहमा पुरुष र महिला खेलाडीले संयुक्त रूपमा झन्डा बोक्ने जनाएका छन् ।
प्रतियोगितामा कुन–कुन नयाँ खेल थपिँदै छन् ?
बेसबल र सफ्टबल सन् २००८ पछि पहिलोपटक युरोकपमा सहभागी भएका खेल हुन् । अन्य चार खेल पनि टोकियो ओलम्पिकमा ‘डेब्यु’ गर्दै छन् । यसअघि नै नियमित सहभागी भइसकेका खेलभित्र पनि थप केही नयाँ विधामा प्रतिस्पर्धा हुनेछ । बास्केटबलतर्फ थ्री बाई थ्री र बिएम १ फ्रिस्टाइल तथा एथ्लेटिक्स, आर्चरी, जुडो, सुटिङ, स्विमिङ, टेबलटेनिस र ट्रायथलनतर्फ नयाँ प्रतिस्पर्धा थपिएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले यो ओलम्पिक खेलकुदका लागि पाँच नयाँ खेल र समग्रमा ३४ नयाँ स्पर्धा थपेको हो ।
कराते
कराते खेल जापनिज आइल्यान्ड ओकिनवाबाट सुरु भएको खेल हो । टोकियो ओलम्पिकमा करातेका दुई विधा काता र कुमितेमा प्रतिस्पर्धा हुनेछ । काता प्रस्तुति हो । यो ‘सेप’ वा ‘मोडेल’ हो, जसमा खेलाडीले पहिले नै तयार गरेको आफ्नो प्रस्तुति दिनेछन् । त्यसमाथि ‘जज’हरूले निर्णय दिनेछन् । सबैभन्दा बढी अंक ल्याउने खेलाडीले स्वर्णपदक जित्नेछन् ।
कुमिते एक–अर्काविरुद्ध प्रहार गरेर भिड्नुपर्ने विधा हो । यसमा दुई खेलाडीले तीन मिनेटसम्म एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्छन् । यसमा खेलाडीहरूले प्रयोग गरेको खेल्ने शैली र उनीहरूको क्षमता हेरेर निर्णय गरिन्छ । टोकियो ओलम्पिकमा करातेतर्फ विभिन्न देशका लागि ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये ६० खेलाडी कुमिते र कातातर्फ २० खेलाडी हुनेछन् । करातेतर्फ महिला र पुरुष दुवैतर्फ बराबरी खेलाडी सहभागी हुनेछन् ।
करातेको विश्व च्याम्पियनसिपमा करातेले लामो समयदेखि दबदबा कायम गर्दै आइरहेको छ । त्यसमध्ये टोकियो ओलम्पिकमा र्यो कियुनाको खेल हेर्नलायक हुनेछ । उनी कराते सुरु भएको सहर ओकिनवाकी खेलाडी हुन् । उनी करातेको कातातर्फकी विश्व च्याम्पियन खेलाडी पनि हुन् । उनीसँगै स्पेनका दामियन क्विन्टेरो र विश्व च्याम्पियन सान्द्रा सान्चेजको खेल पनि हेर्नलायक हुनेछ । यी खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा छन् ।
के तपाईंलाई थाहा छ ? : स्पेनका लागि विश्व र युरोपियन च्याम्पियनसिपमा पदक जितेका डामियन क्विन्टेरो एरोनेटिकल इन्जिनियरसमेत हुन् । उनी जागिर छाडेर करातेतर्फ लागेका हुन् ।
स्केटबोर्डिङ
स्केटबोर्डिङका पनि दुई स्पर्धा छन्, स्ट्रिट र पार्क । यसमा खेलाडीहरूले व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्ने गर्छन् । त्यसमा उनीहरूले प्रस्तुति दिँदा गरेको मुस्किल स्टाइल र मौलिकतालाई हेरेर अंक दिने गरिन्छ । स्ट्रिट स्केटबोर्डिङमा खेलाडीहरूले खुड्किला, भित्ता, बारलगायत ठाउँहरूमा आफ्नो कला प्रस्तुत गर्ने गर्छन् । त्यो उनीहरूलाई दिइएको समयभित्र सक्नुपर्नेछ ।
पार्क स्केटबोर्डिङ कोर्समा हुने गर्छ । यसमा यू आकारको बोर्ड बनाइन्छ, जसमा खेलाडीहरूले तीव्र गतिमा माथितर्फ पुगेर हावामा आफ्नो कला देखाउने गर्छन् । यो प्रस्तुति संगीतको साथमा हुनेछ । चार पदकका लागि हुने स्पर्धामा विभिन्न देशका ८० खेलाडीले स्केटबोर्डिङतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
के तपाईंलाई थाहा छ ? : टोकियो ओलम्पिकमा स्केटबोर्डिङतर्फ जापानले आधाजति पदक जित्ने अनुमान गरिएको छ । दुःखको कुरा जापानमा यो खेललाई अझै पनि व्यवहार बिग्रिएका बालबालिकाहरूको खेल भनेर बुझ्ने गरिन्छ ।
स्पोर्टस् क्लाइम्बिङ
टोकियो ओलम्पिकका स्पोर्टस् क्लाइम्बिङको तीनवटै विधा स्पिड, बउल्डरिङ र लिडतर्फ प्रतिस्पर्धा हुनेछ । स्पिड स्पर्धातर्फ दुई खेलाडीले एकैपटक १५ मिटर अग्लो पर्खाल चढ्नेछन् । यसमा सबैभन्दा पहिले माथि पुग्ने खेलाडी विजयी हुनेछ । बउल्डरिङ केही मुस्किल हुने गर्छ । यसमा झन्डै ४.५ मिटर अग्लो संरचनामा रहेका मुस्किल अवरोधलाई पन्छाउँदै चढ्नेछन् । लिड स्पर्धा झन्डै इन्डुअर क्लाइम्बिङजस्तै हुन्छ । यसमा १५ मिटर अग्लो पर्खालमा खेलाडीहरू जतिसक्दो चाँडो चढ्ने प्रयास गर्नेछन् । अन्त्यमा उनीहरू सबैको अंक हेरेर विजेताको टुंगो लगाइनेछ । टोकियो ओलम्पिकमा स्पोर्टस् क्लाइम्बिङतर्फ ४० खेलाडी सहभागी हुनेछन् ।
के तपाईंलाई थाहा छ ? : स्पोर्टस् क्लइम्बिङका खेलाडीले प्रयोग गर्ने जुत्ता निकै साँघुरा हुन्छन् । उनीहरूले लगाउँदा खुट्टाको औँला नै बांगिने गर्छ । यद्यपि, यसले उनीहरूलाई प्रतिस्पर्धामा पर्खाल चढ्न सहज बनाउने गर्छ ।
सर्फिङ
टोकियो ओलम्पिकअन्तर्गत सर्फिङ प्रतिस्पर्धा टोकियोस्थित ओलम्पिक स्टेडियमदेखि झन्डै एक सय किलोमिटर टाढा सुरिगासाकी बिचमा हुनेछ । खेलाडीहरूले ३० मिनेटको अवधिमा जतिसक्दो धेरै छालसँग खेल्ने प्रयास गर्नेछन् । पाँचजना ‘जज’को समूहले उनीहरूको प्रदर्शनको मूल्यांकन गर्नेछन् । यसमा खेलाडीहरूले पार गरेको मुस्किल अवस्था, नयाँपन, गतिलगायत विषयलाई हेर्ने गरिन्छ । यसको प्रतिस्पर्धा नकआउट फम्र्याटमा हुनेछ । प्रतिस्पर्धामा विभिन्न देशबाट २० महिला र २० पुरुष खेलाडीले टोकियो ओलम्पिकमा भाग लिँदै छन् ।
बेसबल/सफ्टबल
ओलम्पिक कार्यक्रममा प्राविधिक रूपमा हेर्ने हो भने बेसबल/सफ्टबल नयाँ खेल होइन । यद्यपि, यी खेल ओलम्पिक खेलकुदमा सन् २००८ देखि प्रतिस्पर्धा भएको छैन । यी दुवै खेल झन्डै उस्तै–उस्तै छ । यसमा बललाई एकपटक प्रहार गरेपछि होम प्लेटमा पुग्नुअघि मैदानमा रहेका बेसहरूमा धेरैपटक दौडिनुपर्ने हुन्छ । यो दुवै खेल राउन्ड रोवित प्रणालीमा हुनेछन् । बेसबलको भने त्यसपछि नकआउट चरणको प्रतिस्पर्धा सुरु हुनेछ । सफ्टबलको प्रतिस्पर्धा भने सीधै पदक निर्धारण गर्नेतर्फ अघि बढ्नेछ । यो दुवै स्पर्धामा ६–६ टोली हुनेछन् ।
के तपाईंलाई थाहा छ ? : बेसबल जापानमा निक्कै चर्चित खेल हो । दोस्रो विश्वयुद्धपछि जापानमा अमेरिकी सेनाको उपस्थिति बढेसँगै जापनिजहरूबीचमा बेसबल निकै चर्चित बनेको हो । सन् २०१८ मा गरिएको एउटा अध्ययनमा ४८ प्रतिशतले बेसबललाई उनीहरूको मनपर्ने खेल बताएका थिए ।
प्रतियोगितामा पदक
- प्रतियोगिताको अन्तिम दिन ३४ स्वर्णपदकको निक्र्याेल हुनेछ । यो प्रतियोगिताको एकैदिन निश्चित हुने सबैभन्दा बढी स्वर्ण संख्या हुनेछ ।
- प्रतियोगिताको पहिलो स्वर्णपदक २४ जुलाईमा निश्चित हुनेछ । उक्त दिन महिलातर्फको १० मिटर एयर राइफलतर्फको स्वर्ण पदक निश्चित हुनेछ ।
- प्रतियोगिताको अन्तिम स्वर्णपदक ८ अगस्ट साँझ वाटर पोलोको पुरुषतर्फ निश्चित हुनेछ ।
- ३१ जुलाई शनिबार २१ पदकको निर्क्योल हुनेछ । त्यसको भोलिपल्ट आइतबार २५ पदकको निश्चित हुनेछ ।
थप नयाँ के छन् ?
टोकियो ओलम्पिकमा अन्य खेलअन्तर्गत पनि नयाँ स्पर्धाहरू थपिएका छन् । अन्य खेलतर्फ थपिएका नयाँ स्पर्धाहरू,
- आर्चरी– मिक्स्ड टिम
- एथलेटिक्स– मिक्स्ड चार गुणा चार सय मिटर
- जुडो– मिक्स्ड टिम
- सुटिङ– मिक्स्ड १० मिटर एयर राइफल, मिक्स्ड १० मिटर एयर पिस्तोल, मिक्स्ड ट्र्याप
- स्विमिङ– चार गुणा एक सय मिक्स्ड मिड्ले रिले
- टेबलटेनिस मिक्स्ड युगल
- ट्रायथलन– मिक्स्ड रिले
- बक्सिङ– महिला फिदरवेट, महिला वेल्टरवेट
- क्यानोइ स्लालोम– महिला सी १
- क्यानोई स्प्रिन्ट– महिला सी १ २०० मिटर, महिला सी–२ ५०० मिटर
- साइक्लिङ– महिला माडिसन, बिएमएक्स फ्रिस्टाइल पार्क
- रोविङ– महिला कोक्सलेस फोर
- स्विमिङ– पुरुषतर्फ ८०० मिटर फ्रिस्टाइल, महिलातर्फ १५०० मिटर फ्रिस्टाइल