प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले विश्वासको मत पाउने आधार बनाउन गृहकार्य थालेका छन् । प्रधानमन्त्री भएपछि पहिलोपटक एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर देउवाले संसद्मा विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री भएका देउवाले तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए उनको नेतृत्वको सरकार चुनावी सरकार हुनेछ ।
विपक्षी पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवा बुधबार अपराह्न कोटेश्वरस्थित नेपालको निवासमै पुगेर छलफल गरेका थिए । मंगलबार सर्वोच्च अदालतको फैसलापछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेपालले आफू गठबन्धनबाट बाहिरिने बताएका थिए । नेपाल समूहले सहयोग नगरे देउवालाई विश्वासको मत पाउन कठिन हुनेछ ।
विश्वासको मत पाउन देउवालाई एक सय ३६ सांसदको समर्थन चाहिन्छ, तर सत्तारुढ गठबन्धनसँग अहिले एक सय २३ सांसद मात्रै छन् । यस्तोमा देउवालाई विश्वासको मतका लागि नेपाल समूह निर्णायक छ ।
भेटमा देउवा र नेपालबीच गठबन्धन सरकारमा पावर सेयरिङ, मन्त्रिमण्डल विस्तार र सरकारका प्राथमिकताका विषयमा छलफल भएको छ । उनीनिकट एक नेताका अनुसार बुधबारको भेटमा देउवाले सम्भव भएसम्म तत्कालै सरकारमा आउन र नभए आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेता नेपालले विश्वासको मत लिन आफूले सहयोग गर्नेबारे छलफल गर्ने बताएका थिए ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने तथा जनतामा विश्वास र भरोसा जगाउने काममा आफूहरूले सहयोग गर्ने नेपालको भनाइ थियो ।
पहिलो चरणमा कांग्रेसबाट बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । मन्त्रिपरिषद् थप विस्तार गर्नुअगाडि देउवाले नेता नेपाललाई भेटेर मन्त्रिमण्डल विस्तार र सरकार सञ्चालनका विषयमा छलफल गरेका हुन् ।
नेता नेपालले देउवालाई भ्रष्टाचारको विषयमा सचेत हुन सुझाब दिएका छन् । भेटपछि देउवालाई सुझाब दिएकोबारे नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘भ्रष्टाचार नगर्नुस्, कोरोना महामारी नियन्त्रण र जनतालाई खोप उपलब्ध गराउने व्यवस्थित योजना र विकास निर्माणलाई प्रभावकारी बनाउने कुरामा ध्यान दिनुहोस् ।’
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने पूर्वप्रधानमन्त्री नेपालको निमन्त्रणामा देउवा चियापानका लागि मात्रै गएको दाबी गरे । ‘उहाँले चियापानका लागि निम्ता दिनुभयो । त्यही निम्ता मान्न जानुभएको हो । चियागफ भएको हो । अरू राजनीतिक कुराकानी भएको छैन,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘खासगरी विपक्षी गठबन्धनमा सम्बद्ध भएर अहिलेसम्म आउँदाका अनुभवहरूको समीक्षा भयो र सुझाब आदानप्रदान भयो ।’