पार्टीभित्रकै असन्तुष्ट समूहको असहयोगका कारण सरकारबाट बाहिरिनुपरेको निष्कर्षमा पुगेका एमाले अध्यक्ष केपी ओलीले अब एकढिक्का पार्टी असम्भव रहेको सन्देश दिएका छन् । एमालेकै झलनाथ खनाल–माधवकुमार नेपाल समूह विपक्षी गठबन्धनमा पुगेका कारण संसद् पुनर्स्थापना भई र विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भन्दै ओलीले नेपालसहितको पार्टी एकता असम्भव रहेको सन्देश दिएका हुन् ।
सर्वोच्च अदालतको सोमबारको आदेशसँगै नयाँ परिस्थिति विकास भएको भन्दै नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएका थिए । बुधबार नेपालसँगको भेटमा वामदेव गौतमले भने सरकारबाट बाहिरिएपछि पनि ओलीको चरित्र र व्यवहारमा सुधार आउन कठिन रहेको सुनाएका छन् । प्रधानमन्त्रीका रूपमा साढे तीन वर्षको कार्यकाल सकेर सरकारी निवास बालुवाटारबाट बुधबार निजी निवास बालकोट पुगेका ओलीले नेपालसहितको पार्टी एकता असम्भव रहेको बताएर एमाले विवाद झन् चर्किने जनाउ दिएका छन् । दोस्रो तहका दश नेताको सक्रियतामा दशबुँदे सहमति प्रस्ताव बनेको तीन दिनकै बीचमा ओलीले नेपाललाई पार्टीमा कुनै स्थान नदिने अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रियावादी तत्वको पछि लाग्दै बिकाउ बनेर नेपालले आफ्नै पार्टीको सरकार ढाल्ने कामको नेतृत्व लिएको गम्भीर आरोप पनि लगाए । ‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिको यस्तो घुसपैठ भयो, कतिपय व्यक्ति, कमजोर तत्वहरू बिकाउमा परे । प्रतिक्रियावादीको पछिपछि लागेर पार्टीविरुद्ध, जनताविरुद्ध, लोकतन्त्रविरुद्ध आफ्नै सरकार ढाल्नका लागि विरोधीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर कहिले राष्ट्रपतिकहाँ पुगे, कहिले अदालत पुगे माधव नेपालजस्ता लाज–सरम हराएका मान्छे,’ आक्रोशित ओलीले भने, ‘विश्वासघाती तत्वका पछाडि लाग्नेहरूका सम्बन्धमा कमी–कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना–टिप्पणी कुनै ठाउँ छैन । विकासप्रेमी आफ्नै सरकार ढाल्ने अगुवाइ माधव नेपालले गरे ।’
नेपालले पार्टी नेतृत्वको सरकार ढाल्ने कामको अगुवाइ गरिसकेपछि पनि राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई ढाडस दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे । ‘हिजो पनि शपथग्रहणमा देउवाभन्दा पहिल्यै कुदाकुद गर्दै पुुगे । देउवाले हात पछाडि सार्दा पनि अगाडि बढेर ....हात मिलाए,’ ओलीले भने । उनले आफूविरुद्ध पार्टीभित्रैबाट झुटा लाञ्छाना र आरोप लगाइएको पनि दाबी गरे ।
नेपालसँग गौतमको गुनासो– केपीमा सुधार कठिन
एमाले उपाध्यक्ष गौतमले सरकारबाट बाहिरिएपछि पनि अध्यक्ष ओलीको चरित्र र व्यवहारमा सुधार आउन कठिन रहेको निष्कर्ष सुनाएका छन् । वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका गौतमले ओलीको दम्भमा अझै कमी नआएकाले सरकारबाट बाहिरिएपछि पनि पार्टीलाई तत्काल एकताबद्ध बनाएर लैजान सकिने वातावरण निर्माण गर्न कठिन रहेको बताएका हुन् ।
‘उहाँले माधव कमरेडलाई तत्काल केपी ओली सुध्रिँदैनन्, जसले गर्दा पार्टीलाई एकता बनाउने प्रयासलाई सार्थक बनाउने काम गर्न कठिन देखिएको छ भन्ने निष्कर्ष सुनाउनुभयो,’ गौतमलाई उद्धृत गर्दै नेपालनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो । गौतमले पार्टी मिलाउने जिम्मा दिन आग्रह गरे पनि ओली त्यसमा अनिच्छुक देखिएको बताएका थिए ।
नेपालले भने नयाँ परिस्थितिमा आफू पार्टीलाई एकताबद्ध बनाउने काममा हदैसम्म लचक हुने भन्दै ओलीसँगको अन्तर्संघर्षमा सहकार्यका लागि गौतमलाई आग्रह गरेका थिए । गौतमपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।
जनतामा जाने बाटो छेकेर परमादेशबाट हटाइयो
ओलीले जनतामा जाने बाटो छेकेर, जालझेल गरेर परमादेशबाट आफूलाई हटाइएको भन्दै आक्रोश पनि पोखेका छन् । विश्वमा कहीँ नभएको अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर कायम गरिएको ओलीको दाबी छ । उनले जनतामा जाने बाटो तत्कालका लागि छेकिए पनि त्यस्तो जालझेल अब धेरै नटिक्ने दाबी पनि गरे । ‘म चुनाव हारेर प्रधानमन्त्रीबाट हटेको होइन, जालझेलबाट हटाइयो । फेरि बचेर कहाँ जान्छन् ? जनताका बीचमै जानुपर्छ । जालीझेली पार्टीहरूले सधैँ अदालत गएर, अदालतमा निवेदन हालेर सधैँ परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन्,’ ओलीले भने, ‘जालझेल एक–दुईपल्ट चल्ला, सधैँ चल्दैन । नेपाली जनताले बुझेका छन् ।’
प्रतिकूल परिस्थितिमा पनि अर्थतन्त्रलाई माथि लैजाने, विकासको लहर ल्याउने, सुशासन कायम गर्नेलगायत काममा सफल ढंगले आफ्नो सरकारले काम गरेको दाबी गर्दै ओलीले देशभर सचेतना अभियान चलाउन कार्यकर्तालाई निर्देशन पनि दिए । उनले राम्रो काम गर्दागर्दै जनादेशविपरीत बाहिरिनुपर्दा आफूलाई कुनै ग्लानि नरहेको पनि प्रस्ट्याए ।
र्याली र लावालस्करसहित तीन वर्ष पाँच महिनामा बालकोट फर्किए ओली

३ फागुन ०७५ मा प्रधानमन्त्री बनेका ओली तीन वर्ष करिब पाँच महिनापछि सरकारी निवास बालुवाटारबाट बुधबार निजी निवास बालकोट फर्किएका छन् । ओलीलाई एमाले केन्द्रीय सदस्य महेश बस्नेत, निरुदेवी पाल, कर्ण थापालगायतको नेतृत्वमा राष्ट्रिय युवा संघ, युथ फोर्स र अनेरास्ववियुका कार्यकर्ताको ठूलो मोटरसाइकल र्याली र गाडीको लावालस्करले बालकोटस्थित निवाससम्म स्कर्टिङ गरेको थियो ।
वर्षात्का बाबजुद र्यालीमा सामेल कार्यकर्ताले ओलीलाई गलत तरिकाले बहिर्गमन गराइएको भन्दै आक्रोशयुक्त नाराबाजी गरेका थिए । त्यस्तै, कौशलटार चोकदेखि बालकोटस्थित निवाससम्म स्थानीय सयौँ नेता–कार्यकर्ताले ठाउँठाउँमा लामबद्ध बनेर स्वागत गरेका थिए । निवासमा एमाले भक्तपुर जिल्ला कमिटी र सूर्यविनायक नगरपालिकाले ओलीलाई अभिनन्दनसमेत गरेका थिए ।
तीन सातामा नेपालमाथि ओलीका तीन प्रहार
३० असार : सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि भने– माधव नेपालको हकमा आत्मालोचना–टिप्पणी कुनै ठाउँ छैन
हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरूको यस्तो घुसपैठ भयो, कतिपय व्यक्ति, कमजोर तत्वहरू बिकाउमा परे । प्रतिक्रियावादीको पछिपछि लागेर पार्टीविरुद्ध, जनताविरुद्ध, लोकतन्त्रविरुद्ध आफ्नै सरकार ढाल्नका लागि विरोधीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर कहिले राष्ट्रपतिकहाँ पुगे, कहिले अदालत पुगे माधव नेपालजस्ता लाज–सरम हराएका मान्छे । विश्वासघाती तत्वका पछाडि लाग्नेहरूका सम्बन्धमा कमी–कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने मौका दिन्छौँ । तर, माधव नेपालको हकमा आत्मालोचना–टिप्पणी कुनै ठाउँ छैन । विकासप्रेमी आफ्नै सरकार ढाल्ने अगुवाइ माधव नेपालले गरे ।
असार १४ : ७०औँ मदन भण्डारी जन्मजयन्तीको कार्यक्रमलाई सम्बोधन गर्दै भने– यतिसम्म पनि पतन हुन सक्दोरहेछ
माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः किनभने असाध्यै चर्चा भइराखेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । आफ्नो पार्टीको सरकार ढाल्न, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने, अनि एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने ।
यस्तो लाज–सरम पचेको मान्छे चर्चा अलिकति सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले पनि गर्छन् नि ! गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाइन गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेकै छन् । मैले धेरै महिनाअगाडि भनेको थिएँ, माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन्, मामुली कार्यकर्ता । एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फक्र्यो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फक्र्यो भने त्यो पूर्वतिर हुन्छ । पछाडि–पछाडि सँगै हुन्छ । उनी यता जाऊँ भन्यो भने त्यतै पछि–पछि लाग्छन्, कांग्रेसतिर जाऊँ भनेपछि त्यतैपछि लाग्छन् ।
९ जेठ : प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीनिकट पत्रकारहरूसँगको अन्तत्र्रिmयामा भने– माधव नेपालको नेतृत्वमा निर्लज्जता प्रदर्शन भयो
माधव नेपालसँगको सम्बन्ध अब पास्टटेन्स भइसक्यो, त्यसैले चर्चा गर्नु नै छैन । यो निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, त्यस्तो दुनियाँको राजनीतिक इतिहासमा रेकर्ड छैन । बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो काम गर्ने ! एमालेका नेताविरुद्ध विपक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने ! यति निर्लज्जता दुनियाँमा कहीँ देखिएको छैन ।
यसअघि सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता भंग गरिदिएको तीन सातापछि ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेका थिए । नेता नेपाल र रावलले स्पष्टीकरणपत्रको जवाफ चित्तबुझ्दो नदिएको आरोपमा ओलीले दुवै नेतालाई पार्टी सदस्यबाटै निलम्बन गरेका थिए । स्पष्टीकरणको जवाफमा अहंकार देखाएको, आत्मालोचना नगरेको र उल्टै प्रतिस्पष्टीकरण सोधेको भन्दै ओलीले ६ महिनाका लागि विभिन्न जिम्मेवारीसँगै पार्टी सदस्यताबाट समेत निलम्बन गरेको पत्र नेपाल र रावललाई पठाएका थिए । तर, केही समयपछि ओलीले कारबाही फिर्ता लिएका थिए ।