एमाले नेता रघुजी पन्तले पार्टीको सरकार गिर्दा दुःख लागेको बताउँदै गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार पक्षका नेता पन्तले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा यत्रो संकट देखिएको छ । सर्वोच्च अदालतको फैसलाबाट भइरहेको एमालेको सरकार गिर्दा मलाई दुःख लागेको छ । यस्तो फैसला आउने सम्भावना थियो, तर जे भए पनि एमालेको सरकार नरहनु त हामी एमालेका सबै नेता–कार्यकर्ताका लागि खुसी मान्नुपर्ने स्थिति होइन । यो परिस्थिति कसरी आयो, दुई–दुईपटक संसद् विघटन भयो, पहिलोपटक विघटन गर्दा प्रधानमन्त्री केपी ओलीले कसैसँग परामर्श लिनुभएन । दोस्रोपटक विघटन गर्दा पनि माधव नेपालसहित हामी कसैसँग परामर्श नगरी एकलौटी पाइला चाल्नुभयो । जसले गर्दा आजको परिस्थितिमा हामी आइपुग्यौँ । तर, यो हाम्रो कारणले त भएको होइन । यो परिस्थितिको गम्भीर समीक्षा हुनुपर्छ र भविष्यमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुको कुनै विपल्प छैन ।’
नेता पन्तले ओली र नेपालको सल्लाह, सहमति र मन माझामाझपछि मात्रै स्थायी कमिटीको बैठक बस्न सक्ने बताए । अल्पमत र बहुमतको निर्णयबाट जाने हो भने पार्टी पुरानै समस्यातिर जाने पन्तले बताए ।