नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप खोप सहयोग गर्ने आश्वासन दिएकी छिन् । सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजदूत यान्छीले नेपालले खरिद गरेको सबै खोप चाँडै आउने बताएकी छसन् । उनले कोभिड महामारीका कारण नेपालबाट चीनतर्फ रोकिएको निर्यात कोभिड नियन्त्रण भएपछि मात्रै सुचारु हुने बताइन् ।
कोभिड १९ को सुरुवातमा नेपालले चीनलाई मद्दत गरेको उल्लेख गर्दै राजदूत यान्छीले खोप उत्पादन दैनन्दिन बढिरहेका कारण नेपाललाई चीनले भविष्यमा थप सहयोग गर्न सक्ने उल्लेख गरिन् । ‘हामीसँग १० प्रकारका खोप उत्पादन भएका छन् र दुईवटालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, उत्पादन पनि क्रमशः बढिरहेको छ’ चिनियाँ राजदूतले भनिन्, ‘नेपालले खरिद गरेको ४० लाख डोज साइनोफार्ममध्ये सबै चाँडै नै आउनेछ । हामी भविष्यमा नेपाललाई बढीभन्दा बढी खोप पठाउनेछौँ किनभने हामीकहाँ उत्पादन क्षमता बढिरहेको छ ।’
नेपाललाई चीन सरकारले १८ लाख साइनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराइसकेको छ भने नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो चरणमा ८ लाख खोप आइसकेको छ । चीनले नेपालसहित विश्वका १०० देशलाई ४५ करोड डोज खोप उपलब्ध गराइसकेको उनले बताइन् । खोपको मूल्य पारदर्शी नभएको भन्ने टिप्पणीबारे सोधिएको प्रश्नमा भने उनले अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै थप बताइन् ।
नेपाल चीन नाकामा चीनबाट नेपालतर्फ कार्गो सामान आइरहे पनि नेपालबाट बन्द भएको छ । उनले तिब्बतमा महामारी नियन्त्रणका लागि चीन सरकारले यो कदम चालेको भन्दै यसलाई राजनीतिक रूपमा नबुझ्न आग्रह गरिन् । उनको भनाइ थियो, ‘यो राजनीतिक इस्सु होइन, प्राविधिक इस्सु हो । कोभिड महामारी पूर्ण रूपमा नियन्त्रणमा आएपछि सबै चिज सहज हुन्छ र सुचारु हुन्छ ।’