माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा परेको निवेदन खारेज

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेज भएको छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्न दिएको निवेदन आयोगको बैठकले खारेज गरेको हो ।

पूर्वमाओवादी केन्द्रका नेताहरू लिलबहादुर थापा, रामचन्द्र मण्डल र अधिवक्ता सरोज बुढाथोकी गत बुधबार निर्वाचन आयोग निवेदन दिएका थिए । 

निवेदनअनुसार दाबी नपुगेकाले निवेदन खारेज भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । पूर्वमाओवादी केन्द्रका नेताहरू निवेदनाबारे बुझ्न पटकपटक निर्वाचन आयोग गएका थिए ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्वमाओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । कारबाही अवैधानिक भएको र माओवादी केन्द्रलाई निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पनि नभएको उनीहरूको दाबी थियो । 

सुझावित समाचार