भारी वर्षाले काठमाडौंको अनामनगर आसपासका क्षेत्र डुबानमा

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण
भारी वर्षाले काठमाडौंको अनामनगर आसपासका क्षेत्र डुबानमा

अविरल वर्षापछि शनिबार अनामनगरस्थित मदन भण्डारी कलेजबाट मध्य बानेश्वर जाने सडकमा डुबानमा परको स्कोर्पियो । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

बागमती नदी तटमा रहेका सुकुम्वासी बस्ती उच्च जोखिममा

पछिल्लो २४ घन्टायता भएको अविरल वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार आसपासको क्षेत्र जलमग्न बन्न पुगे । विशेष गरी अनामनगर, न्युप्लाजा, घट्टेकुलो, बिजुलीबजार, बबरमहल आसपासका क्षेत्र जलमग्न बनेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंमा ६९.४ मिलिमिटर वर्षा भएको छ । अनामनगर क्षेत्रस्थित धोवीखोलामा आएको बाढीका कारण डुबानमा परेको छ । मदन भण्डारी कलेज आसपासका क्षेत्र शनिबार दिनभर जलमग्न बनेको थियो । धोवीखोलामा बाढी आएको र पर्याप्त निकास हुन नसक्दा बाढी सडक तथा सर्वसाधारणको घरभित्र पसेको थियो । त्यस्तै, घट्टेकुलो र न्युप्लाजा आसपासका क्षेत्र भने ढलको निकास सहज नहुँदा जलमग्न बनेका थिए । सडकमा पानी भरिएपछि सवारीसाधनको आवागमनसमेत प्रभावित बन्न पुगेको थियो । 

सडकपेटीमा हिँड्ने सर्वसाधारण सडक डुबानका कारण समस्यामा परेका थिए । घट्टेकुलो आसपासका क्षेत्रको कतिपय घरभित्रै ढल पसेको थियो । सडक ढलले भरिएपछि सवारीसाधन आवागमन मात्र नभई घरबाट बाहिर निस्कनसमेत सर्वसाधारणलाई समस्या परेको थियो । लगातारको वर्षा र त्यसबाट आएको बाढीका कारण बागमती नदीको बहाव बढेको छ । नदीतटमा बसोवास गर्दै आएको सुकुम्बासी बस्ती नदीमा आएको बहावका कारण जोखिममा परेका छन् । विशेष गरी थापाथली, सिनामंगल र कालीमाटी हुँदै बग्ने बागमती नदीकिनारमा बसोवास गर्ने सुकुम्बासी बस्ती उच्च जोखिममा छन् । 

भक्तपुर हुँदै बग्ने हनुमन्ते खोलाको बहाव पनि बढेको छ । नदीमा आएको बहावका कारण भक्तपुरस्थित राधेराधे आसपासका क्षेत्रमा बाढी पस्न सुरु गरेको छ । नदीमा आएको बाढीले गत वर्ष पनि उक्त क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । लगातारको वर्षाका कारण काठमाडौं–१४ कलंकीस्थित शान्तिटोलमा पहिरो गएको छ । पहिरोका कारण शान्तिटोलस्थित गजुरमुखी गेस्टहाउस पहिरोमा परी भत्किएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण भने आउन सकेको छैन । 

आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२४ घन्टामा तीनको मृत्यु, तीनजना बेपत्ता
चौबीस घन्टायता भएको वर्षाका कारण देशभर तीनको मृत्यु र दुईजना घाइते भएका छन् । तीनजना बेपत्ता भएका छन् । घटनामा परी दुई घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार गएको लगातारको वर्षाका कारण देशभर १३ स्थानमा बाढी तथा पहिरो गएको छ । तथ्यांकअनुसार तनहुँको म्यादे गाउँपालिकास्थित घुम्ती, रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित पिप्रा, धादिङको त्रिपुरासुन्दरी–१ स्थित अवउचा, चितवनको माडी नगरपालिका–६ स्थित रिउ खोलामा बाढी आएको छ । बाग्लुङ ताराखोला–३ स्थित घुस्मेली, चितवन भरतपुर–२९ नारायणगढ मुग्लिन सडकखण्ड, बाजुरा बडिमालिका नपा– ४ स्थित वलेन र कासुगढमा पहिरो गएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले गएको चौबीस घन्टामा वर्षाका कारण भएको प्राकृतिक विपद्ले तीनजनाले ज्यान गुमाएको र तीनजना बेपत्ता भएको बताए । ‘हामीकहाँ मनसुन सुरु भएको करिब महिना दिन बित्यो । यस क्रममा यहाँको जमिन गलिसकेको छ । सानो वर्षाले पनि त्यसलाई बगाउन सक्छ । वर्षा अझै बढ्न सक्ने अनुमान छ । त्यसो हुँदा पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । तराईमा भने बाढी र डुबानको जोखिम छ । त्यसैले नदीआसपासका क्षेत्रका स्थानीयलाई अलर्ट गराएका छौँ,’ उनले भने ।

वैशाखयता प्राकृतिक विपद्का कारण एक सय ३२ को मृत्यु 
प्राधिकरणका अनुसार वैशाखयता प्राकृतिक विपद्का कारण मुलुकभर एक सय ३२ को ज्यान गएको छ । ३६ अझै बेपत्ता छन् । यस अवधिमा पहिरोबाट २८, बाढी २७, वर्षा ६, चट्याङ ३४, आगलागी ११, सर्पदंश आठ, डढेलो तीन, हावाहुरीबाट एक र जनावर आक्रमणबाट १४ जनाको मृत्यु भएको छ । विपद्ले सर्वसाधारणको ५४ करोड ५८ लाख रुपैयाँबराबरको धनमाल क्षति गराएको प्राधिकरणको अनुमान छ । यस अवधिमा देशभर एक सय २६ स्थानमा पहिरो र ७२ स्थानमा बाढी आएको छ ।

देशभर भएका एक हजार एक सय २४ घटनामध्ये सबैभन्दा धेरै पहिरो र बाढीका कारण धनजनको क्षति भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा चट्याङ र आगलागीका कारण धेरैको ज्यान गएको देखिन्छ । ‘वैशाखयताको तथ्यांक हेर्दा सबैभन्दा धेरै धनजनको क्षति बाढी र पहिरोका कारण भएका छन् । आगलागी र चट्याङका कारण पनि धेरैले ज्यान गुमाएका छन् । बाढीपहिरोको जोखिम अझै टरेको छैन । त्यसैले क्षतिको विवरण अझ बढ्न सक्ने देखिन्छ,’ कार्यकारी अधिकृत पोखरेलले भने । 

See More On

सुझावित समाचार