लमजुङको दोर्दी गाउँपालिका– ८ हिलेबजार र फलेनी माविलाई बाढीपहिरोबाट जोगाउन सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजंग गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो ।
श्रीजंग गणका सहसेनानी रमेश अधिकारीको कमान्डमा खटिएको ३५ जनाको सेनाको टोलीले स्थानीयको सहयोगमा बस्ती जोगाउन ९० वटा ढुंगाको ग्याबिन जाली राख्ने कार्य गरिरहेको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिले असार १ को बाढीले क्षति पुर्याएको दोर्दी– ८ को हिलेबजारसँगै विद्यालय भवन जोगाउन सेनालाई तटबन्ध निर्माणको जिम्मा दिइएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

बाढीपहिरोपछि सेनाले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको श्रीजंग गणका गणपति जयराम थापाले बताए ।
असार १ गते दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका– ८ हिलेबजारसहित खोलाकिनारमा रहेका २० घर बगाएको छ । बाढीले हिलेबजारको एक सामुदायिक भवनसहित २० घर बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । बाढीले घर बगाएपछि विस्थापित भएका बाढिपहिरो प्रभावितले हाल फलेनी माविमा आश्रय लिइरहेका छन् ।