आठ करोडमा बनेको फेवातालको सिल्ट्रेसन ड्याम एक वर्षमै भत्क्यो

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

लौरुकखोला, अँधेरीखोला र बेतयनीखोलामा बनेका चारवटा ड्याम पनि जीर्ण, ड्याम निर्माणमै प्राविधिक त्रुटि भएको र ‘रेट्रोफिटिङ’ गर्दा थप २७ लाख खर्चिनुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष

फेवाताल जोगाउने सिल्ट्रेसन ड्याम भत्केको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको करिब आठ करोड लगानीमा निर्मित पोखरा–२३ स्थित हर्पनखोलामा बनेको ड्याम बुधबार राति बाढीले भत्काएको हो । ड्याम भत्कँदा त्यसभन्दा मुनिको मानव बस्तीसमेत जोखिममा परेको छ ।

‘हर्पनखोलामा निर्माण भएको सिल्ट पोखरी र ड्याम बाढीले भत्काएको छ । जसले गर्दा बस्तीसमेत जोखिममा परेको छ,’ वडा नम्बर २३ का अध्यक्ष विष्णु पराजुलीले भने । सय मिटर लम्बाइ रहेको ड्यामको ५० मिटर भाग पूरै बगेको छ । बाँकी भाग पनि काम नलाग्ने अवस्थामा छ । पराजुलीका अनुसार ६ वटा घर उच्च जोखिममा छन् । ड्यामका कारण खोला डाइभर्ट हुँदा डेढ सय रोपनीमा लगाइएको धान लेदो माटोले पुरेको छ । 

हर्पनखोलाको ड्याम र पोखरी निर्माणका लागि मात्र प्रदेश सरकार र महानगरले सात करोड ८८ लाख रुपैयाँ खर्चिएकोे महानगरका इन्जिनियर विमल आचार्यले जानकारी दिए । गत वर्ष नै जीर्ण बनेको ड्यामलाई निर्माण कम्पनीले नै हिउँदमा राम्रोसँग मर्मत नगरी टालटुल पारेको थियो । काम सम्पन्न भएर भुक्तानी लिएको १३ महिनासम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, सम्झौतापत्रमा १२ महिना लेखिएकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर आचार्य बताउँछन् । ‘निर्माण भएर भुक्तानी भएको १३ महिनासम्म निर्माण कम्पनीले मर्मत गर्नुपर्ने हो । सम्झौतामा १२ महिना भएछ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौँ,’ उनले भने । उक्त ड्याम र पोखरी निर्माणको जिम्मा खड्का कृष्ण÷पिके जेभी दाङले लिएको हो ।

फेवातालमाथि गत वर्ष मात्र ७२ वटा पहिरो गएका थिए । त्यसरी पहिरो नै थेग्ने खालका संरचना नबनेको इन्जिनियर आचार्य बताउँछन् । उनका अनुसार बेलैमा जम्मा भएको सिल्ट निकाल्न पाएको भए यो अवस्था आउने थिएन । अँधेरी खोलाको ड्याम अत्यन्तै जीर्ण अवस्थामा छ । उक्त ड्याम गत वर्षमै जीर्ण बनेको भए पनि हिउँदमा सामान्य टालटुल गरिएको छ । बाँकी लौरुकखोला र बेतयनीखोलामा बनेका ड्यामहरू पनि जोखिममा छन् ।

ड्याम निर्माण नै त्रुटिपूर्ण
गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान सदस्य डा. विष्णुराज बरालले निर्माण नै त्रुटिपूर्ण रहेकाले ड्याम भत्कने निश्चित नै रहेको टिप्पणी गरे । ‘हामीले अध्ययन नै गरेर त्यसको प्रतिवेदन दिएका छौँ । ड्याम भत्किन्छ भनेरै प्रतिवेदन दिएको हो । त्यो मात्र होइन, अरू चेकड्याम र सिल्ट पोखरी पनि रेट्रोफिटिङ नगरी हुँदैन । त्यसको सबै लागत अध्ययन गरेर दिएका थियौँ,’ उनले भने । गत वर्ष उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेश नीति तथा योजना आयोगका तत्कालीन सदस्य डा. विष्णुराज बरालको संयोजकत्वमा निर्माण भएका चेकड्याम र पोखरीको अध्ययन गरेर प्रतिवेदन निर्माणका लागि प्राविधिक समिति नै गठन गरेको थियो । समितिले फिल्ड भिजिटपछि रेट्रोफिटिङ गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

रेट्रोफिटिङका लागि २७ करोड रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको संयोजक बराल बताउँछन् । गत २१ भदौमा गठित प्राविधिक समितिमा ताल संरक्षण तथा विकास प्राधिकरणका सिइओ अनुप गुरुङ, पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख ई. शारदामोहन काफ्ले, स्ट्रक्चर डिजाइनविज्ञ ई. मणिराज दाहाल, भूगर्भविद् धनबहादुर श्रेष्ठ र जलाधार संरक्षण कार्यालय तनहुँका प्रमुख कृष्ण घिमिरे सदस्य थिए ।

फेवाताल सिरानतर्फका हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतयनीखोलामा ड्याम र सिल्टपोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको लगानीमा निर्माण भएका चेकड्याम र सिल्ट पोखरी बनाउँदा प्राविधिक त्रुटिसमेत देखिएको समिति संयोजक डा. बराल बताउँछन् । ‘लगानीअनुरूप बन्नुपर्ने संरचना बने पनि ड्यामको बेस धेरै फराकिलो पारिनुपर्ने थियो । त्यसका लागि थप लगानी आवश्यक थियो । ड्यामबाट पानी झर्दा स्लोप भएर बिस्तारै बगाइनुपथ्र्यो । त्यससँगै अर्को संरचना पनि निर्माण गरेर पानीलाई प्राकृतिक रूपमा निकास दिइनुपर्नेमा त्यसो गरिएन, जसकारण बनेको संरचनाले थेग्ने अवस्था छैन,’ उनले भने ।

पहिलो वर्षामै ड्याम जीर्ण बन्नुको अर्को कारण जम्मा भएको सिल्टलाई उचित ढंगले तत्कालै निकाल्ने व्यवस्था नहुनु रहेको विज्ञहरूको भनाइ छ । सिल्ट निकाल्न आवश्यक साधन लैजाने मार्ग नै खोलिएको थिएन । सिल्ट कसरी निकाल्ने भन्ने अवस्था थियो । त्यसैगरी, ड्याममा आपत्कालीन गेटहरू राखिनुपर्नेमा त्यसो गरिएन । यसरी गेट नराख्दा माथिबाट ठूलो बाढी आउँदा त्यसले थेग्न नसक्ने आवस्था आउने देखिएको बराल बताउँछन् । त्यसैले त्यहाँ आपत्कालीन गेटहरूसमेत निर्माण गर्नुपर्ने सुझाब समितिले दिए पनि त्यसो हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । समितिले चार महिनाअगाडि नै प्रतिवेदन बुझाइएसकेको बरालको भनाइ छ ।

फेवा सिरानमा बनेका चारवटै ड्यामका लागि ३४ करोड ४९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, २८ करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माणको काम भएको पोखरा महानगरका सबइन्जिनियर खेमराज तिमल्सिना बताउँछन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको आधा–आधा लगानीमा निर्माणको काम भएको हो । रेखदेख र संरक्षणको काम भने पोखरा महानगरको हो । पोखरा–२४ स्थित बेतयनीखोलाको ड्यामको लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर र उचाइ चार मिटरको हुने सम्झौता भए पनि ठाउँको अवस्था हेरेर ६० मिटर लम्बाइ र ४० मिटर चौडाइको निर्माण गरिएको निर्माण कम्पनीले बताएको छ । बेतयनीखोलामा दुईवटा सिल्ट्रेन ड्याम निर्माण भएको छ । पोखरा–२४ स्थित लौरुकखोलाको ड्याम र पोखरीको लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर र उचाइ चार मिटरको निर्माण भएको हो ।

पोखरा–२३ र २४ स्थित अँधेरीखोलामा एक सय मिटर लम्बाइ, एक सय मिटर चौडाइ र चार मिटर उचाइको ड्याम बनाइएको छ । पोखरा–२३ स्थित हर्पनखोला घाँटीछिनामा एक सय मिटर लम्बाइ र त्यति नै चौडाइ अनि चार मिटर उचाइको ड्याम बनेको छ । चेक ड्याम र सिल्ट पोखरी निर्माणका लागि बेतयनीखोलामा गीता÷जयनेपाल ईश्वर जेभी, लौरुकखोला, अँधेरीखोला र हर्पनखोलामा बनेको ड्याम र पोखरी निर्माणको जिम्मा खड्का कृष्ण÷पिके जेभी दाङले लिएका थिए ।

पोखरा–२३ का वडाध्यक्ष विष्णु पराजुलीले सिल्ट्रेसन ड्याम बनाउँदासमेत आफूहरूलाई जानकारी नदिएको गुनासो गरे । निर्माण क्रममै स्थानीयसहित आफूहरूले गुणस्तरीय ड्याम नबनेको भनेर खबरदारी गरेको उनले सम्झिए । ‘हामीले वेलैमा झक्झक्याएकै हौँ । हामीलाई समेत छलेर काम भए । निर्माण भएपछि पनि सुरुमा त्यहाँ जम्मा भएको ढुंगा, बालुवा झिक्ने काम हुन सकेन, पोहोर नै ड्याम जीर्ण बन्यो । हिउँदमा देखाउन मात्र टालटुल पारियो । अहिलेको बाढीले बगायो । अब तलको बस्ती र खेतीयोग्य जमिन कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भने । 

सुझावित समाचार