बाढीपहिरोबाट एकैदिन आठजनाले ज्यान गुमाए

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण
बाढीपहिरोबाट एकैदिन आठजनाले ज्यान गुमाए

पूर्वी नवलपरासीस्थित कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालयनजिकै बाढीले भत्काएको सडक

मनसुन सक्रिय भएसँगै २५ दिनमा ५३ को मृत्यु, ३५ जना बेपत्ता, बाढीपहिरोले २९ जिल्लामा क्षति

बाढीपहिरोका कारण बिहीबार एकैदिन आठजनाले ज्यान गुमाएका छन् । एक बेपत्ता र ११ जना घाइते भएका छन् । गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलबहादुर तामाङका अनुसार दार्चुलाको नौगाडमा तीन, तनहुँको रिसिङ्ग र पाल्पामा दुई/दुई, दाङको घोराहीमा एक गरी आठजनाको ज्यान गएको हो । 

दार्चुलाको नौगाडमा पहिरोले तीनजनाको मृत्यु भएको र तीन घर क्षतिग्रस्त बनाएको छ । दाङको घोराहीमा अविरल वर्षाले गोठसँगै घरको पर्खाल भत्केर मनिषा चौधरीकी तीन महिने छोरीको ज्यान गएको हो । तनहुँको रिसिङ्गमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने एकजनालाई बाढीले  बगाउँदा मृत्यु भएको छ । तनहुँमा पाँच घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै तीन घरमा आंशिक क्षति पुगेको छ । पाल्पाको तिनाउँमा दुईजनाको मृत्यु भएको छ भने पहिरोले पाँच घर क्षतिग्रस्त भएको छ । 

मनसुन सक्रिय भएसँगै पछिल्लो २५ दिनमा नेपालमा ५३ जनाको मृत्यु भएको छ ।  ३५ जना बेपत्ता भएका छन् । २८ जेठमा मनसुन भित्रिए पनि त्यसको चौथो दिन अर्थात् ३१ जेठबाट बाढीपहिरोका घटना सुरु भएका थिए । बाढीपहिरोले २९ जिल्लामा क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, मनाङ, लमजुङ, उदयपुर, सर्लाहीलगायत २९ जिल्लाका पाँच सय ५६ घरमा बाढीपहिरोले पूर्ण क्षति पुर्याएको र एक सय ५१ घरमा आंशिक क्षति पुगेको गृहको तथ्यांक छ । ३७ सरकारी भवन, १० सामुदायिक विद्यालय भवन, २५ जलविद्युत आयोजना, २३ मोटरेबल पुल र २५ झोलुंगे पुलमा क्षति पुगेको छ । हालसम्म चार हजार २४३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

शुक्रबार पनि मुसलधारे पानी पर्ने
पछिल्ला तीन दिनमा देशभर वर्षा भएको छ । शुक्रबार पनि मुलुकका कैयौँ क्षेत्रमा मुसलधारे पानी पर्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशभर पानी परेको छ । जसमध्ये प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुसलधारे पानी परेको छ । यो अवधिमा चर्चरेमा सबैभन्दा बढी २७८.४ मिलिमिटर वर्षा मापन भएको छ भने नवलपुरमा २६७ र इलाममा १४१.४ मिलिमिटर वर्षा मापन भएको तथ्यांक छ ।

शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षाको आकलन गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम केही स्थानमा मुसलधारे पानी पर्नेछ । त्यसमा पनि सुदूरपश्चिमका एक वा दुई स्थानमा अति धेरै पानी पर्ने आकलन गरिएको छ । शनिबार भने अति ठूलो पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । ‘शनिबार मनसुनको केही कम प्रभाव देखिन्छ, तर पानी नपर्ने भन्ने होइन, देशभर नै पानी पर्छ,’ उनले भनिन्

सुझावित समाचार