ठमेलमा चिनियाँ नागरिकले व्यवसायको आवरणमा अवैध धन्दा सञ्चालन गर्दै

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

ठमेलको जेपी मोडस्थित चिनियाँ नागरिक ही झिओलङ्गले सञ्चालन गरेको झिओ झियाङ होटेलमा सट्टेबाज (अनलाइन जुवा) सञ्चालन भइरहेको सूचनापछि प्रहरी टोली बुधबार साँझ सो ठाउँमा पुग्यो । होटेलको सिटिङ हलमा महिलासहित पाँच चिनियाँ नागरिक जुवामा झुमिरहेको अवस्थामा भेटिए । वर्किङ भिसामा नेपाल बस्दै आएका उनीहरू पाँचैजनालाई प्रहरीले पक्राउ गर्‍यो । होटेलको कोठामा छापा मार्दा जुवा खेल्न प्रयोग हुने विद्युतीय बोर्डसहित माजुङ (प्लास्टिकको गोटी) र चिनियाँ तासका बन्डल फेला परे । 

एसएसपी अशोक सिंह : प्रमुख, महानगरीय काठमाडौं प्रहरी परिसर

विभिन्न आवरणमा चिनियाँ नागरिक ठमेल र त्यस आसपासका क्षेत्रमा बस्दै आएका छन् । बाहिरबाट हेर्दा उनीहरू होटेल र रेस्टुरेन्ट व्यवसायमा संलग्न भएजस्तो देखिन्छ । कोही पर्यटकजस्तो पनि देखिन्छन् । तर, अनुसन्धान गर्दै जाँदा उनीहरूको धन्दा अपराधकर्मसँग जोडिएको देखिन्छ । केही वर्षयता पक्राउ परेका उनीहरूको धन्दाले पनि यो तथ्यलाई पुष्टि गर्छ ।

दुई दिनअघि पनि प्रहरीले ठमेलकै जियाङ्जु खजन होटेलबाट सट्टेबाजमा संलग्न चार चिनियाँ नागरिक पक्राउ गरेको थियो । होटेलको भव्य हलमा सट्टेबाज चलाइरहेका उनीहरूबाट प्रहरीले तासका बन्डल, जुवा खेल्न प्रयोग हुने विद्युतीय बोर्ड र माजुङ मात्रै बरामद गरेन, बाघ र गाईको छाला, कस्तुरीको बिना, बुद्धचित्त र रुद्राक्षका माला, विभिन्न चाइनिज एटिएम कार्डसमेत फेला पार्‍यो । चिनियाँ नागरिक वेलुङ सीले सञ्चालन गरेको होटेलमा जुवा खेल्ने सबै वर्किङ भिसामा नेपाल बस्दै अएका थिए ।

ठमेलआसपास नै डेरा जमाएर बस्दै आएका चिनियाँ नागरिक अवैध धन्दामा संलग्न भएको पहिलो घटना भने होइन । यसअघि यस्तै अवैध धन्दामा संलग्न थुप्रै चिनियाँ नागरिक प्रहरीको फन्दामा परिसकेका छन् । जसमध्ये पाँच चिनियाँ नागरिक १४ र १५ भदौ ०७७ मा हात्तीसारस्थित माया मनोहर बुटिक होटेलबाट पक्राउ परेका थिए । नबिल बैंकको एटिएम ह्याक गर्ने धन्दामा संलग्न उनीहरूले पटक–पटक गरी एक करोड ६८ लाख रुपैयाँ झिक्न सफल भइसकेका थिए ।

काठमाडौंकै बुढानीलकण्ठ, महाराजगन्ज र बलाजुबाट पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई त नेपाल सरकारले सामूहिक रूपमै देश निकाला गर्नुपर्‍यो । वर्किङ र भिजिट भिसामा नेपाल बस्दै उनीहरू ‘अनलाइन गेम्बलिङ, हुन्डी र साइबर अपराधमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो । 

महानगरीय काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले विविध अवरणमा ठमेल बस्ने चिनियाँ नागरिकको गतिविधि शंकास्पद देखिएको बताए । ‘विभिन्न आवरणमा चिनियाँ नागरिक ठमेल र त्यस आसपासका क्षेत्रमा बस्दै आएको देखिन्छ । बाहिरबाट हेर्दा उनीहरू होटेल र रेस्टुरेन्ट व्यवसायमा संलग्न भएजस्तो देखिन्छ । कोही पर्यटकजस्तो पनि देखिन्छन् । तर, अनुसन्धान गर्दै जाँदा उनीहरूको धन्दा अपराधकर्मसँग जोडिएको देखिन्छ । केही वर्षयता पक्राउ परेका उनीहरूको धन्दाले यसलाई पुष्टि गर्छ ।’

ज्याठा क्षेत्रलाई चाइना टाउन घोषणा गराउने प्रयास असफल
ठमेल पर्यटन विकास परिषद्का अनुसार विशेष गरी ठमेलको ज्याठा आसपासका क्षेत्रमा चिनियाँ नागरिकको बाक्लो उपस्थिति छ । एक वर्षअघि उनीहरूले ज्याठा क्षेत्रलाई चाइना टाउन नै घोषणा गर्न लागेका थिए । स्थानीयको अवरोधपछि उनीहरूको त्यो प्रयास असफल बनेको थियो ।

पछिल्लो तथ्यांकअनुसार ज्याठा क्षेत्रमा मात्रै चिनियाँ नागरिकबाट सञ्चालित विभिन्न नामको १५ होटेल र १५ रेस्टुरेन्ट सञ्चालनमा छन् । उक्त होटेल तथा रेस्टुरेन्टमा कुनै न कुनै नामको अवैध धन्दा चल्ने गरेको परिषद्का उपाध्यक्ष भविश्वर शर्मा बताउँछन् ।

‘विशेष गरी ज्याठा क्षेत्रमा चिनियाँ नागरिकबाट सञ्चालित व्यवसाय धेरै छन् । आवरणमा तिनीहरू होटेल र रेस्टुरेन्टजस्तो देखिन्छ । तर, यथार्थमा त्यहाँ विविध खालका अवैध धन्दा हुनेको गरेको देखिन्छ । एटिएम ह्याकिङ, जुवा अखडादेखि वेश्यावृत्तिसम्मका धन्दा त्यहाँ हुने गरेका त प्रहरीकै अपरेसनले पुष्टि गरेको हो,’ उनले भने ।

सुझावित समाचार