दोलखा प्रहरीलाई विपद् प्रतिकार्यका लागि अत्यावश्यक सामग्री सहयोग

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण
दोलखा प्रहरीलाई विपद् प्रतिकार्यका लागि अत्यावश्यक सामग्री सहयोग

नेपाल–चाइना ट्रेड एन्ड इन्डस्ट्रियल एसोसिएसनकी अध्यक्ष अञ्जु पौडेल जिल्ला प्रहरी कार्यालय दोलखाका लागि काठमाडौंमा सहयोग हस्तान्तरण गर्दै । तस्बिर : नयाँ पत्रिका

नेपाल–चाइना ट्रेड एन्ड इन्डस्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ । दोलखा स्थायी घर भई राजधानी बस्दै आएका सोभित उप्रेतीको पहलमा एसोसिएसनले विपद् प्रतिकार्यका लागि अत्यावश्यक उपकरणसहितका सामग्री सहयोग गरेको हो । 

बुधबार एक कार्यक्रममार्फत उप्रेतीको समन्वयमा एसोसिएसनले लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रशोधनसम्बन्धी उपकरण, करौती, प्राथमिक उपचारका सामग्री, त्रिपाल, डोरीलगायतका सामग्रीहरू हस्तान्तरण गरेको थियो । 

एसोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले उप्रेतीसँगको समन्वयका आधारमा दोलखालाई प्राकृतिक विपद्को सामना गर्न प्रहरीलाई आवश्यक सामग्री सहयोग गरेको जानकारी दिइन् । उनले पहाडी जिल्ला दोलखा भौगोलिक रूपमा पनि प्राकृतिक प्रकोपको जोखिममा रहेको बताउँदै उद्धार तथा विपद् रोकथामका लागि सहयोग गरिएको बताएकी छिन् । विपद् प्रतिकार्यका लागि उपलब्ध गराइएका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी सहायक निरीक्षकहरू मनोज भट्टराई र रोनित श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार दोलखा प्रहरीलाई नेपाली मूल्य झन्डै २५ लाख रुपैयाँबराबरको सामग्री वितरण गरिएको छ । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले प्राकृतिक विपद् प्रतिकार्यका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको बताएका छन् । रिजालले जिल्लामा भइपरी आउने मुख्य विपद्सँग पनि प्रहरी सहजै ढंगले खट्न सक्ने सामग्री उपलब्ध गराएकोमा एसोसिएसन र समाजसेवी उप्रेतीप्रति आभारसमेत व्यक्त गरेका छन् । उनका अनुसार नागरिकको सुरक्षार्थ खटिने प्रहरीको आत्माबल वृद्धि गराउन एसोसिएसनले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको छ । 

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थालाई सहयोग 
त्यस्तै, एसोसिएसनले दोलखाका ग्रामीण तथा विकट क्षेत्रका स्वास्थ्यचौकीहरूलाई अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ । कोभिड महामारीको दोस्रो लहरमा यसअघि कुनै पनि प्रकारका सहयोग नपाएका र अक्सिजन कन्सन्ट्रेटर नभएका स्वास्थ्यचौकीहरूलाई कन्सन्ट्रेटरसहितका सामग्री वितरण गरिएकोे उप्रेतीले बताए । उप्रेतीकै पहलमा दोलखाका झन्डै तीन दर्जन स्वास्थ्यचौकी र सामाजिक संस्थालाई झन्डै १० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एसोसिएसनकी अध्यक्ष पौडेलले बताइन् ।

See More On

सुझावित समाचार