एमाले कार्यदलमा ठोस छलफल भएन, घनश्याम भुसाल भन्छन्– १० दिनदेखि कुनै प्रगति भएको छैन (भिडियोसहित)

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक ठोस छलफलविनै सकिएको छ । बिहीबार साँझ बसेको बैठकमा कार्यदल सदस्यसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल सहभागी नभएपछि ठोस छलफल नभएको हो । 

सिंहदरबारमा बसेको बैठकपछि पत्रकारलाई संक्षित प्रतिक्रिया दिँदै कार्यदल सदस्य एवं उपमहासचिव घनश्याम भुसालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताए । उनले भने, ‘१० दिनदेखि हामीले ठोस, मूर्त छलफल गर्न सकेका छैनौँ, आज बिहानको छलफल अहिले साँझा सार्याैँ, अहिलेको छलफल भोलि बिहानलाई सार्याैँ ।’ १० दिनदेखि एजेन्डा तय भएको र त्यसपछि कुनै प्रगति नभएको उनको भनाइ छ । 

ओली पक्षबाट कार्यदल संयोजक सुवास नेम्वाङले शुक्रबार बिहान साढे ११ बजे पुनः बैठक बस्ने प्रतिक्रिया दिए । सहमतिको प्रयास जारी रहेको उनले बताए । तीन वर्षदेखिको विवादलाई यो अवस्थासम्म ल्याइपुर्याउनु सकारात्मक भएको नेम्वाङको भनाइ छ । 
यसअघि कार्यदल सदस्यहरूले सहमतिनजिक पुगेको प्रतिक्रिया दिँदै आएका थिए । बुधबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो ।

सुझावित समाचार