प्रधानमन्त्री केपी ओलीले एकै पुस्तामै विद्वान् तयार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्वजहरूले कैयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सके मात्रै विषयविज्ञता हासिल गर्न सकिने बताएका हुन् ।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कारमा जानुपर्नेमा उनले जोड दिए । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानीअनुसारका वस्तु उपादन गर्न सकिने उनको भनाइ छ ।
ओलीले भने, ‘एक जेनेरेसनमा नै मिहिनेत गरेर विद्वान् हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मिहिनेतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरूले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ । हाम्रोजस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौँ ।’
ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण र संवद्र्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालोतिल भएको भन्दै लगाउने तरिका पनि सुझाए ।
‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, ‘मैले हेर्न त हेरिनँ, उहाँले जनैखटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा, अनि मैले उहाँलाई एउटा औषधिचाहिँ बताइदिएँ । म आफैँलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । र दुख्छ र घाउ हुन्छ । फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले । साधारण औषधि कालोतिल आफैँले चपाएर थपकथपक लगाइदियो भने, बिमारीले चपाउन पनि आनन्द मान्छ । र, चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका–फोका, त्यो जिलजिल गर्ने फोकाहरू समाप्त हुन्छ र बिस्तारै त्यो केही घन्टाभित्र सुक्छ । त्यो मैले अरू ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।’
ओलीले जडीबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरूको बेलिविस्तार लगाए । उनले पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको जिकिर गरे ।
कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत गरिएको थियो ।