गत वर्षको लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधबार सफाइ दिएको हो ।
गत वर्ष असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । लकडाउनमा काठमाडौंबाहिर जाने सवारी पास बनाउन सेवाग्राहीसँग तीन हजार घुस लेनदेन भएको थियो । सुरुमा घुससहित सापकोटा पक्राउ परेकोमा उनको बयानका आधारमा नासु रायमाझीको समेत त्यसमा मिलेमतो रहेको खुलेपछि दुवैविरुद्ध मुद्दा दायर भएको हो । विशेष अदालतका न्यायाधीहरू बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलासले सफाइको फैसला गरेको हो ।
सोही इलजासले बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई पनि सफाइ दिएको छ । ०७६ को पुसमा साहलाई आयोगले १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । काठको लगत तयार पारिदिएबापत उनले घुस लिएका थिए ।
घुससहित इन्जिनियर पक्राउ
सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, गजुरी, धादिङमा कार्यरत सबइजिनियर (करार) विनोद सापकोटा बुधबार घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई धादिङबाटै पक्राउ गरेको हो ।