३२औँ ग्रीष्मकालीन ओलम्पिकमा सेनाका दुई खेलाडी सहभागी हुँदै

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

प्रधानसेनापति पूर्णचन्द्र थापाले जापानको टोकियोमा ८ देखि २४ साउनसम्म आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुन छनोट भएका सेनाका खेलाडीलाई जंगीअड्डामा बोलाएर शुभकामना दिएका छन् । ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका हालसम्म २४ खेलाडीले कौशल प्रदर्शन गरिसकेका छन् । 

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एक सय मिटर स्प्रिन्ट विधामा र क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्नेछन् । 

‘प्रतिस्पर्धी खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुँदै ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा छनाेट हुन सफल भएका छन्,’ निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।  प्रधानसेनापति थापाले छनाेट भएका दुई खेलाडीलाई जितका लागि अग्रिम शुभकामना दिएका छन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि खेलाडीहरूलाई शुभकामना दिँदै ओलम्पिकजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैँमा गौरवको विषय भएको बताए । उनले सेनाका खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपाली सेनाले खेलकुद जगतमा पुर्याएको योगदानको चर्चा गरे ।

सुझावित समाचार