काठमाडौंमा सक्रिय संक्रमितको संख्या बढ्न थाल्यो

बुधबार, २३ असार, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै गर्दा संक्रमण पनि बढ्न थालेको छ । निरन्तर घटेको सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३० पुगेको छ ।

गत १५ असारमा काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ७३ थियो । एक साताको बीचमा सक्रिय संक्रमितको संख्या करिब आठ सय बढ्नुले संक्रमण बढ्न थालेको संकेत दिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

काठमाडौंमा बढ्दा ललितपुर र भक्तपुरमा भने सक्रिय संक्रमितको संख्या घटेको छ । १५ असारमा ललितपुरमा दुई हजार एक सय सात रहेकोमा २२ असारमा एक हजार नौ सय ४८ तथा भक्तपुरमा एक हजार तीन सय ९५ रहेकोमा नौ सय ७३ मा झरेको छ ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजारसम्म पुगेको थियो । जेठको पहिलो साता सक्रिय संक्रमितको संख्या ४२ हजारसम्म पुगेको छ । नयाँ संक्रमितको संख्या करिब पाँच सयको हाराहारी छ । मंगलबार काठमाडौंमा तीन सय ६५, ललितपुरमा एक सय पाँच र भक्तपुरमा २८ गरी चार सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । 

बजारदेखि सरकारी कार्यालयसम्म भिडभाड 
उपत्यकामा ८ असारदेखि निषेधाज्ञा खुकुलो बनाइएको हो । मंगलबारदेखि सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणालीसमेत हटाएर सबै प्रकारका सार्वजनिक यातायातसमेत सञ्चालन हुन थालेका छन् । बजारदेखि सरकारी कार्यालयसम्म भिडभाड बढेको छ ।

खोप केन्द्रहरूमा समेत सामाजिक दूरी कायम नगरी भिड लागेको छ । दैनिक संक्रमण दर करिब २० प्रतिशत रहेको अवस्थामा सबैतिर भिडभाड हुँदा संक्रमण पुन बढ्ने चिकित्सकहरूको चिन्ता छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा मात्र निषेधाज्ञा खुकुलो बनाइएको बताउँछन् । लापरबाहीका कारण संक्रमण बढ्न थालेमा फेरि कडाइ गरिने उनको भनाइ छ ।

सुझावित समाचार