नौ दिनदेखि बेपत्ता सुजिताको शव जंगलमा भेटियो

मंगलबार, २१ असार, २०७८
डिजिटल संस्करण
नौ दिनदेखि बेपत्ता सुजिताको शव जंगलमा भेटियो

घटनाको सत्य–तथ्य पत्ता लगाउन माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय

नौ दिनदेखि हराएकी राप्ती नगरपालिका– ३ की सुजिता भण्डारीको शव जंगलमा भेटिएको छ । परिवारले उनको हत्या भएको आशंका गरेको छ ।  स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा आइतबार बेलुका उनको शव भेटिएको हो । च्याउ खोज्न गएका स्थानीय सीताराम चेपाङले शव देखेर प्रहरीलाई जानकारी गराएकोमा सुजिताकै शव भएको सनाखत भएको हो । 

२३ वर्षकी भण्डारी गत ११ असारको बिहान घरबाट निस्केकी थिइन् । करिब डेढ किलोमिटरको दूरीमा रहेकी साथीको घरमा तरकारी लिन भनेर गएकी उनी त्यसयता बेपत्ता थिइन् । त्यही दिन दिउँसो १२ बजेपछि उनले दिदीलाई फोन गरेर आफ्नो अपहरण भएको बताएकी थिइन् । तर, पछि मोबाइलमा सम्पर्क हुन सकेको थिएन । त्यसयता प्रहरीबाट समेत उनको खोजतलास हुँदै आएको थियो । त्यो दिन उनी साथीको घर पनि नपुगेको र कसैले अपहरण गरेको हुन सक्ने परिवारले जनाएको छ । 

परिवारका अनुसार बिहान ५ देखि ६ बजेको बीचमा उनी घरबाट निस्किएकी थिइन् । त्यो दिन घरबाट निस्कनुअघि उनको कसैसँग कुरा भएको थिएन । अघिल्लो दिन बेलुका नै उनले भोलिपल्ट बिहान आफू साथीकोमा जाने बताएकी थिइन् । 

रोपाइँका खेतालालाई तरकारी लिन उनी साथीकोमा गएको सुजिताका बुबा यज्ञप्रसाद भण्डारीले बताए । उनले फोनमा आफूलाई आँखामा पट्टी लगाएर अपहरण गरेको बताएकी थिइन् ।  दुईजना महिला र एकजना पुरुषले राप्ती– ३ को सिमरा चोकबाट अपहरण गरेको कुरा उनले फोनमा भनेको कविताले बताइन् । लगत्तै प्रहरीलाई जानकारी गराइएको परिवारले जनाएको छ । तर, पछि परिवारलाई कतैबाट फोन नआएकाले अपहरणको सम्भावना कम रहेको प्रहरी आकलन छ । 

सुजिताको फोनको अन्तिम लोकेसन राजमार्गदेखि दक्षिणतर्फ देखिएपछि त्यतैतर्फ खोजी गरेको थियो । तर, नौ दिनपछि शव भने पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको जंगलमा भेटिएको हो । उनको शव भएको ठाउँ पुग्न राजमार्गको झुरझुरेदेखि करिब तीन किलोमिटर कच्ची सडक पार गरेर आधा घन्टा उकालो उक्लिएपछि मात्र पुगिन्छ । 

अपहरणमा परेको भनेर सुजिताले बताएपछि ११ गते नै गाउँमै आतंक मच्चिएको थियो । शवको पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरी अधिकारी बताउँछन् । प्रहरीले प्राविधिक अनुसन्धान पनि गरिरहेको छ । साथै सुजिताका साथी र केही शंकास्पद व्यक्तिहरूलाई समेत सोधपुछ गरेको छ । 

घटना रहस्यमय, शवसँगै भेटियो बोतल

सुजिताको शवसँगै एउटा बोतल, तीन सय २० रुपैयाँ नगद, एउटा च्यातिएको झोला र उनको मोबाइलको ब्याट्री भेटिएको छ । बोतलमा केही तरल परार्थ भेटिएको छ, जुन विषादी हुन सक्ने प्रहरीको आकलन छ । तर, मृतकको शव हिलो र पानीले असर गर्दा उक्त बोतल भने सफा अवस्थामा भेटिएकाले शंका बढेको स्थानीयको भनाइ छ । उनको मोबाइल भने अझै भेटिएको छैन । 

यता बेपत्ता युवतीको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरी स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग सोमबार दिनैभरि अवरुद्ध गरे । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछने, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराललगायतका स्थानीय जनप्रतिनिधि, प्रहरीलगायतको लिखित सहमतिपछि शव साँझ ६ बजेतिर पोस्टमार्टमका लागि लैजान दिइएको थियो । 

हत्या नै भएको परिवार र आफन्तको दाबी
परिवार र स्थानीय सुजिताको हत्या नै भएको बताउँछन् । उनीहरूले सुजिताको मृत्युको घटनालाई पनि निर्मला पन्तको जस्तै गरी ‘डिसमिस’ पार्ने कोसिस भइरहेको आशंका गरेका छन् । सुजिताकी आमा अम्बिका भण्डारीले भनिन्, ‘मेरी छोरीलाई अपहरण गरिएको जानकारी प्रहरीमा गराउँदा पनि खोजतलासमा गम्भीरता देखाएन । आज प्रहरीले राम्रोसँग खोजेको भए मेरी छोरीको यो अवस्थामा भेटिँदैनथिन् होला ।’ 

प्रहरीले भने आफूहरूले अनुसन्धानमा ढिलासुस्ती र बेवास्ता नगरेको बताएको छ । ‘उजुरी आएलगत्तै प्राविधिक विश्लेषण गरी अनुसन्धान गरिहेका छौँ । पहिले नै अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत टोली खटिएको छ ।’ चितवनका एसपी ओमप्रसाद अधिकारीले भने ।

See More On

सुझावित समाचार