साना तथा मझौला र स्टार्टअप उद्यमलक्षित कर्जाको अवधारणा ल्याउन महासंघको सुझाब

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ । महासंघले आर्थिक वर्ष ०७८÷७९ को मौद्रिक नीतिका लागि आइतबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आफ्ना सुझाबहरू पेस गर्दै साना तथा मझौला उद्यम–व्यवसायको पुनरुत्थान तथा विस्तारमा जोड दिन आग्रह गरेको हो । 

‘साना तथा मझौला उद्यमी लक्षित पुनर्कर्जाले निकै राहत दिएको छ,’ महासंघका अध्यक्ष गोल्छाले गभर्नरसँग भने, ‘यसपटक अर्थतन्त्रमा करिब २२ प्रतिशत हिस्सा राख्ने यस्ता उद्यम र स्टार्टअपको विस्तारका लागि परियोजना कर्जाको अवधारणा ल्याउनुपर्छ ।’ महासंघले परियोजना कर्जाको सम्भाव्यताबारे अध्ययन गरिरहेको र छिट्टै राष्ट्र बैंकसमक्ष प्रस्तुत गरिने पनि उनले जानकारी दिए । 

महासंघले आगामी मौद्रिक नीतिले चालू वर्षको नीतिमा कोभिड–१९ पुनरुत्थानका लागि लिएको नीतिको निरन्तरतासँगै साना तथा मझौला उद्यमीलाई परियोजना कर्जा एवं डिजिटल बैंकिङको विस्तारलाई प्राथमिकता दिनुपर्ने सुझाब दिएको छ । 
छलफल कार्यक्रममा गभर्नर अधिकारीले महासंघबाट प्रस्तुत सुझाब यथार्थपरक र आवश्यक भएको बताए ।

‘सुझाब यथार्थपरक छन्,’ उनले भने, ‘यसमा अध्ययन गरी के–कसरी कार्यान्वयन गर्न सकिन्छ, हामी थप छलफल गर्छौँ ।’ व्यवसाय निरन्तरता कर्जाको प्रभावकारी कार्यान्वयनका लागि तलबबाहेक अन्य कामका लागि पनि सुविधा होस् भन्ने माग निजी क्षेत्रको छ । सहुलियतपूर्ण कर्जामा पनि सामान्य परिमार्जन आवश्यक रहेको महासंघले जनाएको छ ।  

महासंघद्वारा पेस गरिएको सुझाबमा भनिएको छ, ‘गत वर्ष मौद्रिक नीतिका प्रावधानसँगै बजारमा रहेको अत्यधिक तरलताका कारण विशेष गरी चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थतन्त्रका लागि निकै राम्रो रह्यो । तर, यसपटक तरलतामा चाप पर्ने देखिएको छ । त्यसैले आगामी मौद्रिक नीति बजारमा तरलता प्रवाह गर्नेतर्फ बढी केन्द्रित हुनुपर्छ ।

उपलब्ध उपकरणको प्रयोग गरी एकल अंकमा ब्याजदर कायम गर्ने प्रयास नीतिले गर्नुपर्नेछ । आर्थिक गतिविधि बढ्दा विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनमा पर्ने चापको अवस्थालाई पनि मिहिन रूपमा मौद्रिक नीतिले केलाउनुपर्नेछ ।’
सरकारले तदारुकताका साथ खोप वितरण गर्न सक्यो भने आगामी आवमा अर्थतन्त्र पूर्णयता लयमा फर्किने आकलन महासंघको छ । महासंघको भिजन पेपरमा दुई वर्षको न्यून वृद्धिपछि आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हुने प्रक्षेपण छ । भिजन पेपरले आगामी १० वर्षमा २३ लाख थप रोजगारी हुने प्रक्षेपण गरेको छ । 

सुझावित समाचार