विष्णु पौडेल भन्छन्– माधव नेपालले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन (भिडियोसहित)

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । ओलीका विश्वासपात्र मानिने पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । 

भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्याको समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको बताए । राष्ट्रिय सभाको बैठकबाट बाहिरिने क्रममा उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् । 

उनले भने, ‘माधव कमरेडकोमा गएका थियौँ, म सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह ग¥यौँ भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक–आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऊँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस्, हामी त्यो चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । उहाँले प्रधानमन्त्रीसँग भेट्न अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौँ ।’

सुझावित समाचार