प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको समुद्रटार–त्रिशूली ३ ‘बी’ हब १ सय ३२ केभी डबल प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गरेका छन् । नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सबस्टेसन प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेका हुन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुद्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २ सय ७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरूमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत् आयोजनाहरू निर्माणाधीन छन् ।
प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाले उपयोग गर्नेछ । समुद्रटार सबस्टेसनमा १३२÷३३ केभीतर्फ २ थान ३० एमभिए क्षमताका ट्रान्सफर्मरहरू र ३३/११ केभीतर्फ २ थान ८ एमभिए क्षमताका ट्रान्सफर्मरहरू जडान गरिएका छन् ।
१ सय ३२ तर्फ ५ वटा वे र ३३ केभीतर्फ ४ वटा उपकरणहरू जडान गरी सञ्चालनमा ल्याइएको छ । सबस्टेसनबाट स्थानीय रूपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वीभेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुनेछ । सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कुल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर ०७३ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।