भन्सार छलेर ल्याएको चोरीका गाडी नक्कली कागजात बनाई बिक्री

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

बजार मूल्य एक करोड ४० लाख पर्ने कार ९० लाखमा बिक्रीमा संलग्न चारजना पक्राउ

भन्सार छलेर ल्याएको चोरीका गाडीको नक्कली कागजात बनाई बिक्री कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–२ का मधु सिलवाल, सूर्यविनायक–८ का अरुण खड्का, लमजुङ सुन्दरबजार–३ का कमलबाबु भट्ट र मोरङ कानेपोखरी–७ का रेवतीरमण निरौला छन् । महानगरीय अपराध महाशाखाले उनीहरूलाई चाबहिलस्थित गोपीकृष्ण हल र भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो । 

प्रहरीले ग.३च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर उल्लेख भएको दुईवटा क्रेटा कार पनि बरामद गरेको छ । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले पक्राउ परेकाले बरामद गाडीको नक्कली ब्लुबुक र अन्य कागजात तयार पारी ९० लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएका थिए । गाडीको बजार मूल्य अहिले एक करोड ४० लाख रुपैयाँ पर्छ । ‘भन्सार छलेर चोरीको गाडी काठमाडौं भित्रिएको सूचना थियो । सोही सूचनाका आधारमा हामी अनुसन्धानमा थियौँ । यही क्रममा गोपीकृष्ण हलनजिकबाट क्रेटाको गाडीसहित एक अभियुक्त पक्राउ परे । उनकै सहयोगमा भक्तपुरको सूर्यविनायकबाट अर्को एक गाडीसहित अन्य दुई अभियुक्त पक्राउ परे । दुवै गाडीको ब्लुबुक नक्कली रहेको भेटियो,’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कमलबाबु भट्टले चोरीको दुवै गाडी भन्सार छलेर काठमाडौं भित्र्याएका थिए । रेवतीरमण निरौलाको सहयोगमा दुवै गाडीको नक्कली ब्लुबुकसहित आवश्यक अन्य कागजात तयार पारे । ब्लुबुकमा सवारीधनी आफ्नै नाम लेख्न लगाए । बिक्रीका लागि भने भक्तपुरको सूर्यविनायकस्थित पशुपति रिकन्डिसनका सञ्चालक अरुण खड्का, मधु सिलवाल र विशाल खड्कालाई भने । उनीहरूले ३० लाख रुपैयाँमा अग्रिम भुक्तानी दिएर दुईमध्ये एउटा गाडी खरिद गरे । प्रहरीका अनुसार उनीहरूले बैनाबापत १९ लाख रुपैयाँ पुरी र मधुसुदन पाण्डेलाई दिइसकेका थिए । 

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले चोरी गाडी नेपाल ल्याउने, नक्कली कागजात बनाउने र बिक्री गर्ने विगतका धन्दाकै एक शृंखला रहेको बताए । ‘विगतमा पनि भारतबाट यसैगरी चोरीका गाडी आउँथ्यो । नक्कली कागजातका आधारमा बिक्री हुन्थ्यो । लकडाउनका कारण बीचमा यो धन्दा केही सुस्तायो । अहिले फेरि सुरु भएको छ । अन्यको सूचना संकलन गर्ने र खोजी गर्ने क्रम जारी छ,’ उनले भने । प्रहरीका अनुसार विगतका गिरोहले अञ्चलीकरण (गाडीको नम्बर एक अञ्चलबाट अर्को अञ्चलमा स्थानान्तरण) को फाइदा उठाउँदै चोरीका सवारीसाधनको नक्कली कागजात बनाउँथे । तर, अहिले पक्राउ परेका अभियुक्तले चोरीका गाडीको सम्पूर्ण कागजात आफैँ बनाउने गरेको भेटिएको एसपी कोइरालाले बताए ।

नक्कली ब्लुबुक बनाउनेको धन्दा अरू पनि 

प्रहरीले चोरीका गाडीको नक्कली कागजात बनाउने धन्दामा संलग्न मोरङ कानेपोखरी–७ का रेवतीरमण निरौलालाई पशुपति क्षेत्रबाट पक्राउ गर्यो । प्रहरीले उनको शान्तिनगरस्थित डेरामा छापा मा¥यो । कोठाको दराजमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायत विभिन्न शैक्षिक संस्थाका नक्कली कागजात फेला परे । एसएलसीदेखि एमएसम्मका नक्कली शैक्षिक प्रमाणपत्र पनि फेला परे । त्यसबाहेक विभिन्न सरकारी कार्यालय, विश्वविद्यालयका, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न संस्थाका एक सय ९१ वटा छाप (स्ट्याम्प) उनको कोठाबाट फेला परेको छ ।

निरौलालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । ‘निरौलाको कोठाबाट विभिन्न तहका नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली ब्लुबुक, लाइसेन्स फेला परे । विभिन्न सरकारी कार्यालय, विश्वविद्यालय, यातायात व्यवस्था कार्यालयका छाप पनि बरामद भयो । उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखियो,’ खापुङले भने ।

सुझावित समाचार