कर्णाली सुहाउँदो आमसञ्चार नीति ल्याउँछौँ : कानुनमन्त्री नेपाली

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले कर्णाली सुहाउँदो आमसञ्चार नीति ल्याउने प्रतिबद्धता जनाएको छ । एकीकृत प्रेस शिविर २०७८ को आयोजनामा हुम्ला पुगेकी कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपाली यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

‘राजनीतिकर्मी पनि मिडियासँग जोडिएर आएका छौँ, पत्रकारहरूसँग सुझाब, सल्लाह लिएर मात्रै कर्णाली प्रदेशले आमसञ्चार नीति ल्याउनेछ,’ उनले भनिन्, ‘अन्य प्रदेशका पनि आमसञ्चार नीति हेरेका छौँ, अन्य प्रदेशको आमसञ्चार नीतिजस्तो कर्णालीको नीति हुँदैन । कर्णाली सुहाउँदो नीति ल्याउँछौँ ।’ 

प्रसारण ऐन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले अब विभागीय मन्त्रीको हैसियतले संशोधन गरेर लागू गर्ने प्रतिबद्धता जनाइन् । उनले पत्रकारले खोज पत्रकारिता गर्ने कि अनुमानकारिता भन्ने प्रश्न पनि गरिन् । 

आमसञ्चार नीति पत्रकारकै सुझाब, सल्लाहमै ल्याइने उनले बताइन् । हरेक क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने अवस्था रहेको पनि उनले बताइन् ।  एकीकृत प्रेस शिविर २०७८ को आयोजनामा हुम्ला पुगेका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार स्व. जयबहादुर रोकायाको अभाव खड्किएको बताए । 

सूचना तथा प्रसारण विभागका अधिकृत भरत गौतमले अब प्रेस परिचयपत्र अनलाइन माध्यमबाट दिने व्यवस्था हुन थालेको बताए ।  नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईले मोफसलका पत्रकारहरूको पीडा सम्बोधन गर्न आफूहरू लागिपरेको बताए । 

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारलाई थुन्ने नीति नल्याउन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सत्य तथ्य समाचार संप्रेसण गर्न आग्रह गरे ।
 

सुझावित समाचार