विपक्षी गठबन्धनका शीर्ष नेताले केपी ओली इतिहासमा कलंकित र बदनाम प्रधानमन्त्रीका रूपमा चिनिने दाबी गरेका छन् । वुद्धिजीवीसँग अन्तरक्रियामा राष्ट्रपतिजस्तो संस्थालाई समेत प्रधानमन्त्री ओलीले बदनाम गराएको उनीहरूले बताए ।
ओलीले सोमबार बिहानै सर्वोच्च अदालतदेखि, बुद्धिजीवी र विपक्षी गठबन्धनका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेको केही समयपछि गठबन्धनका नेताहरूले प्रधानमन्त्री ओली अत्यन्तै छुद्र र तुच्छ ढंगले गालीगलौजमा उत्रिएको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले प्रयोग गरेको भाषालाई इंगित गर्दै प्रधानमन्त्रीको हैसियतमा देश चलाउने क्षमतमाथि नै प्रश्न उठाए । ‘सम्मान गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?,’ देउवाले प्रश्न गरे ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाए । संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको उनको भनाइ छ । ‘संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको छ । हामीले बहुमत पुर्याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बन्नुभयो,’ उनले भने, ‘संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत हो । न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्छौँ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै षड्यन्त्रका गोटी चाल्नका निम्ति ओली जुनसुकै हर्कतमा जान सक्ने खतरा रहेको बताए । राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने आफूले कल्पनासमेत नगरेको उनको भनाइ छ । ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरिदिए पनि हुने भन्ने भएको छ’, प्रचण्डले भने, ‘त्यसका निम्ति विभिन्न इन्स्टिच्युटसँग कुरा पनि गर्नुभयो होला । खतराको घन्टी सिद्धियो । अब हामी सुरक्षित भयौँ । हाम्रो संविधान, लोकतन्त्र सुरक्षित भयो भन्ने होइन । ढुक्क हुने स्थिति अझै बनेको छैन ।’
एमाले नेता माधव नेपालले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै राम्रो प्रणाली बसाएर मात्र नहुने साथै राम्रो संस्कार पनि चाहिने बताए । ‘हामी आफैँ अरूलाई भन्छौँ, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्छ,’ उनले भने । नेता नेपालले प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नसमेत आग्रह गरे । ‘प्रधानमन्त्रीको भनाइ सकारात्मक र नकरात्मक दुवै तरिकाले बुझ्नुपर्छ । तर, बानी र पानी माथिबाट तल बगेको राम्रो,’ उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नुभएछ । कति राम्रो ! आफैँ बुझ्नुस् ! । उहाँका हिजो र आजका भाषण ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’
यस्तै जसपा वरिष्ठ नेता अशोक राइले समयको आवश्यकता गठबन्धन बनाउनुपर्ने अवस्थामा पुर्याएको बताए । ‘यो गठबन्धन लामो समयसम्म टिक्नुपर्छ, टिकाउनुपर्छ । गठबन्धन रहरले वा लहडले होइन, आवश्यकताले निर्माण भएको हो,’ उनले भने ।