कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनको लोत्से हलमा बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताए ।
संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पु¥याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहो¥याए ।
संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायालयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
उनले प्रधानमन्त्री केपी ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरे । उनले भने, ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’