क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाट्को डालिक स्पेनसँग सचेत छन् । क्रोएसिया स्पेनविरुद्ध स्ट्यान्डबाई अवस्थामै प्रतिस्पर्धा गर्ने प्रशिक्षक डालिकले बताएका छन् । युरोपियन फुटबलको शक्तिशाली टोलीमा गनिने क्रोएसिया र स्पेनबीच सोमबार राति (९ः४५) कोपेनहेगनस्थित पार्केन रंगशालामा प्रिक्वार्टरफाइनल खेल हुँदै छ । स्पेनमाथिको जितले सन् २०१८ को विश्वकप उपविजेता टोली क्रोएसिया तेस्रोपटक युरोकपको क्वार्टरफाइनलमा पुग्नेछ ।
यता स्पेन भने लगातार तीनपटक मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनल चरणबाट बाहिरिएको पीडा भुलाउने प्रयासमा रहनेछ । प्रिक्वार्टरफाइनलबाट माथि उठन नसकेको जिंक तोड्ने प्रयास नै स्पेनको हो । सन् २०१६ को संस्करणमा स्पेन प्रिक्वार्टरफाइनलमा इटालीसँग पराजित भएको थियो । क्रोएसिया यही चरणमै पोर्चुगलसँग स्तब्ध भएको थियो ।
समूह ‘डी’मा क्रोएसिया उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो । क्रोएसियाले समूह ‘डी’मा एक मात्र जित निकाल्न सफल भयो । समूह ‘ई’को उपविजेताका रूपमा नकआउटमा स्थान सुरक्षित गरेको स्पेनले एक जित र दुई बराबरी नतिजा निकालेको थियो ।
समूह चरणको पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पोल्यान्डले स्पेनलाई १–१ को बराबरीमा रोक्यो । स्पेनले अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को जित निकाल्यो । क्रोएसियाले आफ्नो समूहको पहिलो खेलमा इंग्ल्यान्डसँग १–० को हार सामना गरेको थियो । त्यसपछि चेक रिपब्लिकसँग १–१ को बराबरी खेल्यो । अन्तिम खेलमा स्कटल्यान्डमाथि ३–१ को जित निकाली अन्तिम १६ को यात्रा पक्का ग¥यो ।
समूह चरणमा दुवै टोलीको प्रदर्शन त्यति राम्रो मान्न सकिन्न । नकआउट चरणमा स्थान बनाएका टोलीको खेल्ने तरिका फरक हुन्छ । यसकारण स्पेन र क्रोएसियाबीच क्वार्टरफाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धा प्राविधिक र काउन्ट्याक्टले भरिपूर्ण हुनेछ । स्पेन विशेषतः बल पोसेसन नियन्त्रण राखी विपक्षी पोस्टमा चार्ज गर्ने टोली हो ।
क्रोएसिया लामो पास र काउन्टर एट्याक्टमा विपक्षीका डिफेन्डरलाई चुनौती दिने टोलीमा पर्छ । स्पेनले समूहमा लगातार दुई खेल बराबरी निकाल्दा प्रशिक्षक लुइस एन्रिकको खुबै आलोचना भएको थियो । अधिकांश समय बल नियन्त्रणमा राखे पनि स्पेनले पहिलो दुई खेलमा गोल गर्न सकेको थिएन । तेस्रो खेलमा स्लोभाकियाविरुद्ध सबै रिस पोख्यो र ५–० को फराकिलो अन्तरले जित निकाल्यो ।
स्लोभाकियाविरुद्धको खेलसँगै स्पेनको फिनिसिङ लाइनका खेलाडी फर्ममा आएको देखिन्छ । जब स्पेनको मिडफिल्ड र फिनिसिङका खेलाडीबीच उत्कृष्ट तालमेल हुन्छ, त्यसवेला विपक्षी टोलीका डिफेन्डरले उनीहरूलाई रोक्न निकै गाह्रो पर्छ । यसैले पनि क्रोएसियाले आज राति हुने खेलमा स्पेनको मिडफिल्डर स्ट्राइकरलाई रोक्नुपर्ने जरुरी छ ।
क्रोएसियाका प्रशिक्षक डालिकले पनि स्पेन आफ्नै स्वरूपमा आएको बताएका छन् । ‘हामीले पछिल्लो खेलमा देख्यौँ, स्पेनले आफ्नो शक्ति युरोकपमा प्रस्तुत गरेको छ,’ क्रोएसियन प्रशिक्षक डालिकले भने, ‘चालू युरोकपकै युवा, तीव्र गतिमा दौडन सक्ने तथा शक्तिशाली टोलीमा स्पेन पर्छ ।’ प्रशिक्षक डालिकले स्पेनको खेल्ने तरिका नै फरक भए पनि क्रोएसिया पनि कम नभएको दाबी गरे । डालिकले भने, ‘स्पेनको मुख्य हतियार बल पोसेसन बनाएर आक्रमण गर्नु हो, खेलमा बढीभन्दा बढी आपसमा पासिङ खेल्नु उनीहरूको खुवी हो, तर हामी पनि कम छैनौँ क्रोएसियासँग पनि फरक खेल्ने शक्ति र क्वालिटी छ ।’ प्रतिस्पर्धामा स्पेनलाई खेल जित्न त्यति सहज नहुने उनी बताउँछन् । ‘विपक्षीका सबै रणनीति थाहा छ, त्यसैअनुसार हामीले रणनीति बनाइसकेका छौँ,’ क्रोएसियन प्रशिक्षक डालिकले भने, ‘हामीले डिफेन्स लाइनमा विशेषतः ध्यान दिनुपर्छ ।’ स्पेनिस टोलीका डानी ओल्मोले क्रोएसियाको क्लब डिमानो जाग्रेवमा पाँच वर्ष बिताएका छन् । उनलाई क्रोएसियन खेलाडी कसरी खेल्छन् र कस्तो किसिमको रणनीति अपनाउनुपर्छ भन्ने ज्ञान छ । ‘खेलमैदानमा क्रोएसिया सधैँ एक कठिन प्रतिद्वन्द्वी हो,’ डानीले भने, ‘खेलको अन्तिम समयसम्म क्रोएसियन खेलाडी देशका लागि जित्नुपर्ने भावनाका साथ प्रतिस्पर्धा गर्छन् ।’ स्पेनविरुद्ध क्रोएसियनका इभान पेरिसिक खेल्ने छैनन् । उनको कोरोना रिपोर्ट पजिटिभ आएको छ ।

हेड टु हेड
– सन् २०१८–१९ को नोभेम्बरमा युइएफए नेसन्स लिग कपमा क्रोएसियाले स्पेनलाई ३–२ ले हराएको थियो । यसअघि सन् २०१८ को सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय खेलमा स्पेनले क्रोएसियालाई ६–० ले पाखा लगाएको थियो । क्रोएसियन फुटबल इतिहासमा यो नै ठूलो अन्तरको हार हो ।
– मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्रोएसिया र स्पेनबीच यो तेस्रो भेट हो । संयोग नै भन्नुपर्छ अघिल्लो दुई भेट पनि युरोकपमै भएको थियो । सन् २०१२ र २०१६ को युरोकपको समूह चरणमा क्रोएसिया र स्पेनले आपसमा प्रतिस्पर्धा गरेका थिए ।
फ्याक्ट्स
क्रोएसिया
–क्रोएसियाको यो छैटौँ युरोकप सहभागिता हो, क्रोएसियाले चारपटक मात्र युरोकपको नकआउट चरणमा स्थान बनाएको छ । क्रोएसिया सन् १९९६ र २००८ मा क्वार्टरफाइनल र सन् २०१६ मा प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो ।
– सन् २०१८ को विश्वकपपछि १० मध्ये एक खेलमा मात्र क्रोएसियाले विपक्षी पोस्टमा गोल गर्न सकेन । यसक्रममा क्रोएसियाले विपक्षी पोस्टमा १८ गोल गरेको छ ।
– स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेका लुका मोड्रिक टोलीकै पाका खेलाडी बने । स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा उनको उमेर ३५ वर्ष दुई सय ८६ दिन थियो । क्रोएसियन इतिहासमा सबैभन्दा युवा खेलाडीका रूपमा युरोकप खेल्ने रेकर्ड पनि उनकै नाममा छ । सन् २००८ को संस्करणमा उनले २२ वर्ष ७३ दिनमा अस्ट्रियाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
स्पेन
– सन् २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप विजेता स्पेन पछिल्लो अन्तर्राष्ट्रिय मेजर फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । सन् २०१६ को युरोकपको अन्तिम १६ को स्पर्धामा इटालीसँग पराजित हुँदै स्पेन घर फर्किएको थियो । सन् २०१८ को विश्वकपमा रसियासँग स्पेन प्रिक्वार्टरफाइनलमै पराजित भएको थियो ।