फेवा किङ्स कप : लिग चरणका खेल सकिँदा प्रहरी, गण्डकी, एपिएफ र आयोजक अन्तिम चारमा

आइतबार, १३ मंसिर, २०८३
डिजिटल संस्करण

कास्की/ पोखरामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत लिग चरणका खेलहरु सम्पन्न भएका छन्। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत पाँचौँ दिन आइतबार लिग चरणका खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको छ।

विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र आयोजक युनाइटेड किङ्स क्लबले अन्तिम चारमा स्थान बनाउँदा कोशी प्रदेश भलिबल संघ र विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भने बाहिरिएका छन्।

फाइनल प्रवेशका लागि सोमबार हुने पहिलो सेमिफाइनलको खेलमा पुलिस र आयोजक भिड्दा दोस्रो खेलमा गण्डकी र एपिएफ भिड्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए। राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी सबै ६ टोलीले लिग चरणमा समान ५–५ खेल खेलेका थिए। लिगका खेल सकिँदा पुलिस १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा गण्डकी १० अंकसहित दोस्रो, एपिएफ नौ अंकसहित तेस्रो र आयोजक सात अंकसहित चौथो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउन सफल भएका संयोजक गुरुङले बताए।

प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा आर्मीलाई कोशीले ३–१ को सेटमा पराजित गर्यो। खेलको पहिलो सेट २५–१४ र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको कोशी तेस्रो सेटमा भने २०–२५ ले पछि परेको थियो। एक सेटले अग्रता लिएको कोशीले चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पार्दै जित हात पार्यो।

दोस्रो खेलमा एपिएफले आयोजकलाई ३–२ को सेटमा पराजित गरेको थियो। खेलको पहिलो सेट २१–२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। तीन सेट सकिँदा एक सेटले पछि परेको आयोजकले चौथो सेट ३२–३० ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा पुर्याएको थियो। खेलको निर्णायक पाँचौँ सेट १५–११ ले आफ्नो पक्षमा पार्दै एपिएफले जित हात पारेको हो।

लिग चरणको अन्तिम खेलमा पुलिसले सहज जित हात पार्ने क्रममा गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पुलिसले खेलको पहिलो सेट २५–२३, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो।
 

सुझावित समाचार