संसद् विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौंलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् । आइतबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्वयु (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरूको बैठकले संसद्विरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।
प्रधनामन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानार्षणस्वरूप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद् पुनस्र्थापना गर्नेमा समेत ती संगठनहरूले विश्वास व्यक्त गरेका छन् ।
यस्तै, विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याहरूका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए । लकडाउन अवधिको शुल्क विद्यार्थीलाई अविलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
मन्त्रीजस्तो पदको मर्यादासमेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानुनलाई चुनौती दिने गरी गरेको हर्कतको तीव्र विरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धतासमेत जाहेर गरेका छन् । साथै विज्ञप्तिमा सरकारसँग आमविद्यार्थी र शिक्षकलगायतलाई शीघ्र खोप व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न माग गरिएको छ ।