मनसुन सुरु भएपछि पछिल्लो १३ दिन (३१ जेठदेखि) मा देशभरका ५९ स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये शनिबार साँझसम्म २९ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याउन सकिएको छ भने १७ ठाउँमा सुचारु भएको सडक विभागका महानिर्देशक अर्जुनजङ थापाले जानकारी दिए । अझै १३ स्थानमा सडक अवरुद्ध छ ।

वर्षाले सबैभन्दा बढी प्रभावित डुम्रे, बेँसीसहर, चामे सडक भएको छ । यो सडकखण्डको ८ ठाउँमा शनिबार साँझसम्म पनि अवरुद्ध छ भने एक ठाउँमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । बर्सेनि मनसुनले प्रभावित हुने यो सडक अघिल्ला वर्षहरूमा पनि पहिरोको समस्या देखिँदै आइरहेको छ । सडकका केही ठाउँमा बेलीब्रिज बगाएको छ भने केही ठाउँमा ट्र्याक नै मस्र्याङ्दी नदीले बगाएको छ । त्यस्तै, केही ठाउँमा ठूलो ढुंगासहितको पहिरो गएको इन्जिनियर सुरज महर्जनले जानकारी दिए ।
अरनिको राजमार्गको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध छ । गत शनिबार लिपिङमा पुल बगाएपछि अझै सडक अवरुद्ध छ । ‘अप्ठ्यारो भौगोलिक अवस्थाले तत्कालै नियमित गर्न कठिन देखिएको छ,’ सडक विभागका महानिर्देशक थापाको भनाइ छ । काठमाडौं, धुलिखेल, दोलालघाट, खाडीचौर, कोदारीमार्गमा पर्ने कोदारी क्षेत्रमा ढुंगा–माटो भरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । तर, ९ असारमा आएको पानीले थप पहिरो गएको र क्षति भएको छ । यही राजमार्गको ड्याम साइट र जुरे क्षेत्रमा भने एकतर्फी सडक सञ्चालनमा आएको छ ।
यसबाहेक बर्दिवास, सिन्धुली, खुकोर्ट, धुलिखेल सडकको पनि माम्ती खोलानजिक सडक अवरुद्ध भएको छ । ब्याकहो लोडरले पहिरो पन्साउने काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबँेसी, रसुवागढी सडकको पनि त्रिशूल खोला, सानो भार्खु खोला र गाँजाबारीमा सडक अवरुद्ध छ । यस खण्डमा अहिले वैकल्पिक मार्ग प्रयोग भइरहेको इन्जिनियर सन्तराम पाण्डेयले जानकारी दिए । त्यस्तै, अर्को धेरै प्रभावित सडकमा साँफेबगर, मार्तडी, कोल्टी सडक परेको छ । यस सडकको धेरै ठाउँमा अवरुद्ध भएको छ । यस सडकको बार्जुगाड, बल्दे, अम्कोटमा सडक अवरुद्ध छ । यही सडकको हड्डे खोला, रिला, बलेना पनि अवरुद्ध रहेको छ ।